काठमाडौं- नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको ७४ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्योपचारको क्रममा उनको निधन भएको हो ।
ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचाररत उनलाई शुक्रबार भेन्टिलेटरमा सारिएको थियो । उनी सो अस्पतालमा साउन ८ गते भर्ना भएका थिए ।
नेपाली कांग्रेस संसदीय दलले गएराति उनको निधन भएको पुष्टि गरेको हो । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममाा हिजो राति ९: ३० बजे निधन भएको जानकारी गराएकाे हो ।
सचेतक विश्वकर्माका अनुसार आज बिहान ९ बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ भने बिहान ११: ३० बजे देखि दिउँसो २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा राखिने छ । दिउँसो २ बजेपछि अन्त्यष्टिका लागि पशुपति आर्यघाट लगिने छ ।
नेता गिरीका बुवा मित्रलाल गिरी पनि राजनीतिमै सक्रिय थिए बुवाको प्रेरणाबाट नेता गिरीले २०१७ सालताका राजनीतिक यात्रा सुरु गरे। लोकतान्त्रिक आन्दोलनका क्रममा वि.सं. २०२५ मा १८ महिना र २०४२ मा करिव एक वर्षगरी उनी झण्डै चार वर्ष जेल बसेका छन् ।
वि.सं. २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष हुँदै राजनीति अघि बढाएका नेता गिरीले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गरेका छन् । जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएका नेता गिरी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिरहा १ बाट निर्वाचित सांसद हुन् ।
यसैबीच प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले स्तब्ध भएको बताएका छन् ।
प्रधानमन्त्री देउवाले एक ट्विटमा भनेका छन्, “नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।” उनले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताए। प्रधानमन्त्री देउवाले दिवंगत नेता गिरीको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ ०७:३९