चितवन - पूर्वी चितवनको रत्ननगरमा पर्ने खगेरी पुल नजिक बोलेरो गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । घटनालगत्तै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
आज बिहान करिब साढे ५ बजेको समयमा बोलेरोको ठक्करबाट शौचालय जाँदै गरेका स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालयका डीएसपी रविनबाबु रेग्मीले जानकारी दिएका हुन् ।
ठक्करबाट गम्भीर घाइते भएका रानामगरको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै उनकाे मृत्यु भएको डीएसपी रेग्मीले बताए । रानामगरलाई ठक्कर दिएपछि बोलेरो गाडी फरार भएको र खोजीकार्य भैरहेको उनले बताए ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको पनि उनले बताए । यसैबीच चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।