दाङ- दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । साथिहरुसँग नुहाउन घोराही रामपुर बुका निवासी २६ वर्षीय निराजन पोख्रेलको पानीमा डुबेर मृत्यु भएको हाे ।
घोराही उपमहानगरपालिका-२ स्थित अर्जुन खोला र मसोट खोलाको दोभानमा पुगेका घोराही उपमहानगरपालिका-२ रामपुरका पोख्रेलको पानीमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीले जानकारी दिएका हुन् ।
दिउँसो नुहाउने क्रममा मान्छे डुबेको सुचना पाएलगत्तै डिएसपी बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको उनले बताएका हुन् । खोजतलास गर्ने क्रममा पोख्रेल खोँचमा अड्किएको अवस्थामा फेला पारेको थियो । निराजन आफ्ना अन्य २ जना साथिसहित पौडी खेल्न पुगेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९ ०८:१५