दमौली- गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई सुशासनको केन्द्र बनाउनुपर्ने बताएका छन् ।नेकपा (एमाले) घिरिङ गाउँ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा गुरुङले एमालेले जितेका पालिकालाई सुशासनमा नमूना बनाउनुपर्ने बताएका हुन् ।
सबै पक्षलाई मिलाएर लैजान सकेमात्र विकास हुने भन्दै गुरुङले मेलमिलापले मात्रै विकास सम्भव रहेको उल्लेख गरे । “जहाँ मेलमिलाप छ त्यहाँ विकास भएको छ, जहाँ झैझगडा छ त्यहाँ विकास हुँदैन, झैझगडा भए सुशासन पनि हुँदैन”, गुरुङले भने, “विकासको काममा विपक्षीलाई पनि मिलाएर लैजानुपर्छ ।”
गुरुङले भ्रष्टाचार नियन्त्रणका लागि नायक भएर काम गर्नुपर्ने बताए। भ्रष्टाचार देश विकासको बाधक भएकाले भ्रष्टाचार नियन्त्रणका लागि सङ्कल्प गर्नुपर्नेमा उहाँले जोड दिए । सार्वजनिक सम्पत्तिको संरक्षणका लागि पनि जनप्रतिनिधिले रक्षा गर्ने गर्नुपर्ने उनको भनाइ थियो । सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेमा उनकै पार्टीका कार्यकर्ता पनि रहेकाे र त्यसको प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा उनले जाेड गरे ।
गुरुङले हरेक काम पारदर्शी हुनुपर्नेमा जोड दिँदै पारदर्शी भए मात्र सुशासन सम्भव रहने धारणा राखे। जालझेल गरेर शासन चलाउन नहुँने, विधिको शासन ठूलो कुरा रहेका उनले बताए । उनले भने, कानून र विधिलाई ख्याल गर्नुपर्छ ,सनकका भरमा शासन गर्न नहुने भन्दै संविधानलाई टेकेर शासन गर्नुपर्ने सुझाव दिए ।
गुरुङले स्थानीय सरकारलाई सबैको सरकार हो भन्ने बनाउनुपर्ने बताए। कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेले जितेका पालिकालाई नमूना बनाउनुपर्नेमा जोड दिए । घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले सबै जनतालाई हाम्रो सरकार हो भन्ने अनुभूति दिलाउने बताए।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९ १९:४४