काठमाडाैं- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्वपूर्ण काम गर्दै आएको बताएका छन् ।
२८ औं विश्व आदिवासी दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भए अनुसार उनीहरुको हक, अधिकार र सुविधा दिलाउने कार्यमा पनि सरकार सदैव क्रियाशील रहेको बताएका हुन् ।
आदिवासी, जनजातिहरूको पहिचान गर्ने र उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उनले स्मरण गराए ।
प्रधानमन्त्री देउवाले आदिवासी, जनजातीहरुलाई राज्यको कुनै पनि अवसरबाट बञ्चित हुन नदिन सम्बन्धित सबै पक्षले मिलेर काम गर्न आवश्यक रहेको पनि बताए । प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरूको उत्थान नभई मुलुकलाई समृद्ध बनाउने सपना यथार्थमा परिणत नहुने कुरालाई आत्मासात गर्दै अघि बढनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कार्यक्रममा बोल्दै भने सबै आदिवासी, जनजातिहरूको उत्थान गरेर मात्रै मुलुकको समुन्नति हुने भएकाले काँग्रेसले त्यस विषयमा गम्भिर भएर काम गरिरहेको दावी गरे । उनले एमालेले अघि सारेको समृद्ध मुलुक बनाउने अभियानमा आदिवासी, जनजातिहरू अटाउन नसक्ने जिकिर समेत गरे ।
काँग्रेसले मात्रै उनीहरुको हक, अधिकार र सुविधाका लागि काम गरिरहेको महामन्त्री थापाको भनाई थियो । महामन्त्री थापाले आफ्नो पार्टीले जनजातिहरूको पहिचान मेटिन नदिन संविधान निर्माणको बेलामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९ १९:२९