काठमाडाैं - गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेका छन् ।
गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताएका छन् ।
गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन प्रतिबद्ध रहेकाे बताए ।
उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि जनाए । अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो ।
भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताइन् । सरकारले बिहीबार मात्रै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले बताइन् ।
जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताएकी छन् ।
उनले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको पनि अधिवेशन हुन लागेको जानकारी गृहमन्त्री खाणलाई गराएको जानकारी गृहमन्त्रीको निजी सचिवालयले दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९ १७:२४