काठमाडाैं - प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार व्यवस्थापन विधेयक, २०७६’ पारित भएको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको उक्त विधेयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले पेश गरेकाेमा सभाको पहिलो बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि १५ मिनेट स्थगित भई सञ्चालन भएको दोस्रो बैठकले विधेयक पारित गरेको हो ।
त्यसपछि विधेयकका बारेमा सदनमा छलफल भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको दोस्रो बैठकमा ध्वनिमतका आधारमा विधेयक सर्वसम्मतिले पारित भएको घोषण गरेका हुन् ।
यसअघि विधेयकमाथिको छलफलमा सांसदहरुले भाग लिनुभएको थियो । उनीहरुले उठाएका प्रश्नको गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएको थियो । कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको उक्त विधेयक सरकारले विसं २०७६ मङ्सिर २९ मा दर्ता गराएको थियो ।
यसअघि पहिलो बैठकमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा पेश गरेकाे थियो ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९ १८:१४