एजेन्सी- युक्रेन र रूसले किभलाई ब्ल्याक सी हुँदै अन्न निर्यात गर्ने एउटा सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन अन्न निर्यात गर्ने बाटो खुलेको छ ।
युक्रेन संकटका कारण विश्वमा खाद्यन्न आपूर्तिमा अभाव देखिएको थियो । २४ फेब्रूवरीमा रूसी हमलापछि लाखौँ मानिस आवश्यक खानेकुराबाट बञ्चित थिए ।
टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात पुनः सुरु गर्न रूससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रूस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा हस्ताक्षर गर्न रूसी र युक्रेनी समूह शुक्रबार इस्तानबुल पुगेका थिए । सहमतिअनुसार ढुवानी ट्रान्जिटमा हुँदा रसियाले बन्दरगाहहरूलाई निशाना बनाउने छैन् । युक्रेनी जहाजहरूले मालवाहक जहाजहरूलाई मार्गनिर्देशन गर्नेछन् ।
संयुक्त राष्ट्रसंघको सहयोगमा टर्कीले जहाजहरू को निरीक्षण गर्नेछ । त्यस्तै ब्ल्याकसी मार्फत अन्न र मल को रूसी निर्यात को सुविधा गरिनेछ। जहाजमा हतियार तस्करी हुने रूसी त्रासबीच टर्कीले निरीक्षण गर्ने सहमति भएको हो ।
सम्झौताको खबरसँगै विश्व बजारमा गहुँको मूल्यमा गिरावट आउने अनुमान गरिएको छ । युक्रेन विश्वको सबैभन्दा ठूलो अन्न उत्पादकमध्ये एक हो र रसियाले यसको प्रमुख ब्ल्याक सी बन्दरगाहहरू अवरूद्ध गरेको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलर मूल्य बराबरको अनाज बिक्रीमा रहेको बताएका छन् ।
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९ १२:४२