काठमाडौं- आज नवरात्रीको सातौं दिन अर्थात् फूलपाती, देशभरका शक्तिपीठ, जमराघर तथा हिन्दूहरुको घर–घरमा फूलपाती भित्र्याइँदै छ।
शास्त्रीय मान्यता अनुसार घर–घरमा सामान्यरूपमा फूलपाती भित्र्याउनका लागि भने साइत नै कुरिरहनु अनिवार्य मानिँदैन, यस दिन दिनभरि नै फूलपाती भित्र्याउन शुभ मानिन्छ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकको रुपमा भित्राइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।
‘केरामा ब्रहृमाणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ।
काठमाडौंको हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राहृमण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ।
हेर्नुहोस् देशमा विभिन्न स्थानमा फूलपाती भित्र्याउँदै गरेका तस्बिर:
जिल्ला प्रशासन कार्यालय धादिङबाट सदरमुकाम धादिङबेसीको पुछारबजारस्थित देवी मन्दिरमा फूलपाती भित्र्याउन लगिँदै।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ घरबारीटोलस्थित प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा फूलपातीका दिन शनिबार फूलपाती भित्र्याउँदै नेपाली सेना र नेपाल प्रहरी ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको श्री भैरवी दल गणले तारकेश्वर नगरपालिका-४ स्थित पुरानो गुह्ययेश्वरी मन्दिरमा विधिपूर्वक पूजा गरी गणतर्फ फूलपाती भित्र्याउन लैजाँदै।
पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा विधिपूर्वक पूजा आजा गरी सुरक्षाकर्मीबाट फूलको डोली भित्र्याइँदै।
बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा फूलपाती भित्र्याइँदै।
तनहुँको व्यास नगरपालिका-४ तनहुँ कालिका मन्दिरमा फूलपाती भित्र्याउन डोली लैजॉदै सेना र प्रहरी।
मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित गणेश मन्दिरमा धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याउन लगिँदै।
तस्बिरहरु: रासस