काठमाडौं- विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ।
प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने यो मन्दिर आज बिहान ५ बजेदेखि खुलेसँगै पूजा र दर्शन गर्ने भक्तजनको भीड लागेको हो। आज बेलुकी ६ बजेसम्म तलेजु भवानी मन्दिर सर्वसाधारणलाई पूजा, आराधना एवं दर्शनका लागि खुला गरिने दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिएकी थिइन्।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको साइतअनुसार तलेजु भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ०७:३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो। तलेजु भवानीलाई त्यसै दिन बिहान १०:३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो।

तलेजु भवानीलाई मूलचोकमै राखेर सोमबार महाअष्टमीका दिन राति कालरात्रि पूजा गरिएको थियो। कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिएको पनि हेरचाह अड्डाले जनाएको छ।
विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ। कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०:५१ बजे यात्रा गराइने छ। त्यसै दिन बिहान ११:५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ।

