काठमाडौं- आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ।
लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिने यात्रीको त्यहाँ घुइँचो लागेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुन्यप्रसाद सिटौलाका अनुसार देशभरका सबै क्षेत्रमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको हो।
यसैबीच, प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शंकर श्रेष्ठले चाडपर्वमा आपराधिक गतिविधि हुने सम्भावना अधिक भएकाले बसपार्क क्षेत्रका साथै अन्यत्र पनि शान्तिसुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको जानकारी दिए।
त्यसका निम्ति सादा पोसाकमा प्रहरी परिचालन गरिएको उनले बताए।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच गत मंगलबार चाडपर्वलक्षित यातायात सेवाका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो।
हेर्नुहोस् नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङ गर्न आएको सर्वसाधारणको भीड:





तस्बिरहरु: रासस