ललितपुर- यल बहुउद्देश्य सहकारी संस्था लिमिटेड, सौगल ललितपुरको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार सौगलमा संस्थाका अध्यक्ष रामकृष्ण चित्रकारको सभापतित्वमा सम्पन्न साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष चित्रकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब तथा लेखापरीक्षकको प्रतिवेदनसमेत पारित गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ को अनुमानित बजेट, लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायतका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिएको छ।
संस्थाले प्रस्तुत गरेको वासलात विवरणअनुसार गत असार मसान्तसम्म सहकारीको शेयर पुँजी ३ करोड ५४ लाख २ हजार ८ सय रुपैयाँ पुगेको छ। त्यस्तै, बचत तथा निक्षेप दायित्व १६ करोड ५० लाख ५५ हजार ६ सय २७ रुपैयाँ रहेको छ।
सहकारीले विभिन्न क्षेत्रमा गरेको ऋण लगानी ११ करोड ६३ लाख ८४ हजार २ सय ३५ रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १ करोड ५५ लाख ७५ हजार ९ सय ७८ रुपैयाँ रहेको जनाइएको छ।
सहकारीले २०८३ साल असार मसान्तसम्म विभिन्न कारोबारसमेत गरी २२ करोड ७६ लाख ८ हजार ३ सय ६२ रुपैयाँको कुल कारोबार गरेको छ।
साधारण सभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, संस्थाका सदस्य, सञ्चालक समिति तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। विभिन्न कार्यक्रमसहित सम्पन्न साधारण सभामा संस्थाको आर्थिक अवस्था, आगामी योजना तथा सहकारीको गतिविधिबारे समेत छलफल गरिएको थियो।