काठमाडौं- प्रबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोङ्गबु काठमाडौंको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार काठमाडौंको नयाँबजारमा सम्पन्न साधारण सभाले सुनिल शिल्पकारको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो।
साधारण सभाबाट संस्थाको उपाध्यक्षमा अजय शाक्य, सचिवमा प्रवीण विलास बज्राचार्य र कोषाध्यक्षमा नरेश शाही चयन भएका छन्। सञ्चालक सदस्यहरूमा प्रभाकर जोशी, जेन बज्राचार्य, लक्ष्मी श्रेष्ठ, गोमा आले र सन्तदेवी महर्जन निर्वाचित भएका छन्।
सभाले निवर्तमान अध्यक्ष दीपक शिल्पकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। त्यसैगरी आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वासलात, आय–व्यय विवरण, नगद प्रवाह विवरण तथा अनुमानित बजेटसम्बन्धी प्रस्तावसमेत पारित गरिएको छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायतका प्रस्ताव पनि पारित गरेको छ। संस्थाका अनुसार २०८३ असार मसान्तसम्म संस्थाको सेयर पुँजी २ करोड ९६ लाख ५३ हजार रुपैयाँ पुगेको छ। बचत निक्षेप दायित्व ३३ करोड ४९ लाख ६४ हजार २९ रुपैयाँ रहेको छ भने ऋण लगानी २० करोड २६ लाख १७ हजार ३०७ रुपैयाँ पुगेको छ।
संस्थाको जगेडा कोषमा ५५ लाख ६६ हजार २११ रुपैयाँ रहेको जनाइएको छ। विभिन्न कारोबारसमेत गरी संस्थाले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म ४० करोड १२ लाख ३६ हजार ७७३ रुपैयाँ बराबरको कुल कारोबार गरेको छ। साधारण सभाका अवसरमा एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने संस्थाका सदस्यका छोराछोरीलाई पुरस्कार तथा सम्मानसमेत गरिएको थियो। सभाले लेखा समिति र ऋण उपसमितिका सदस्यहरू पनि चयन गरेको छ।
नवनिर्वाचित अध्यक्ष सुनिल शिल्पकारले सहकारीलाई थप सशक्त र बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थामा आबद्ध सदस्यलाई प्राथमिकतामा राखेर सरल ढंगबाट पुँजी परिचालन गर्ने, सदस्यमा संस्थाप्रतिको अपनत्व बढाउने तथा विश्वासको वातावरण सिर्जना गर्ने बताए।
सहकारी अभियन्ता, सहकारीकर्मी, समाजसेवी, विद्यार्थी, कानुनकर्मी, संस्थाका सदस्य, पदाधिकारी तथा कर्मचारीलगायतको उपस्थिति रहेको साधारण सभा नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराएपछि सम्पन्न भएको थियो।