काठमाडौं– दक्षिण कोरियामा पछिल्लो पाँच वर्षमा औद्योगिक दुर्घटना र कामसँग सम्बन्धित रोगका कारण ४६३ विदेशी श्रमिकको मृत्यु भएको पाइएको छ। नेपालीहरुको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको कोरियामा बढी दुर्घटना र मृत्यु थोरै जनशक्ति भएका साना कम्पनीमा भएको जनाइएको छ।
कोरियाको रोजगार तथा श्रम मन्त्रालयको तथ्यांकअनुसार सन् २०२२ देखि चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म ४६३ जना विदेशी श्रमिकको कार्यस्थल दुर्घटना र कामसँग सम्बन्धित रोगका कारण ज्यान गएको हो। मृत्यु हुनेहरुमा ५० जनाभन्दा कम श्रमिक रहेको व्यवसायमा बढी मृत्यु भएको पाइएको ‘सोल इकोनमिक डेली’ले जनाएको छ। कूल मृतकमध्ये ३६२ जना अर्थात् ७८.२ प्रतिशत श्रमिक यस्ता कम्पनीमा भएको तथ्यांक छ।
समाचारका अनुसार यस अवधिमा ३८ हजार ८०७ जना विदेशी श्रमिक कार्यस्थल दुर्घटनामा घाइते भएका छन्। जसमध्ये २९ हजार ५८ जना अर्थात् ७४.९ प्रतिशत श्रमिक ५० जनाभन्दा कम श्रमिक कार्यरत उद्योगका रहेको उल्लेख छ। यो तथ्यांकले श्रमिकको मृत्यु र दुर्घटना साना औद्योगिक क्षेत्रमा बढी रहेको देखाएको छ।
कोरियाको श्रमबजारमा विदेशी श्रमिकको संरचनाका कारण यस्तो समस्या देखिएको जनाइएको छ। त्यहाँको राष्ट्रिय तथ्यांक एजेन्सीले सन् २०२५ मा सार्वजनिक गरेको आप्रवासीको बसोबास तथा रोजगारीसम्बन्धी सर्वेक्षणका अनुसार ७८.९ प्रतिशत विदेशी श्रमिक ५० जनाभन्दा कम कर्मचारी भएका व्यवसायमा कार्यरत छन्।
कोरियाको श्रमबजारमा विदेशी श्रमिकको संरचनाका कारण यस्तो समस्या देखिएको जनाइएको छ। त्यहाँको राष्ट्रिय तथ्यांक एजेन्सीले सन् २०२५ मा सार्वजनिक गरेको आप्रवासीको बसोबास तथा रोजगारीसम्बन्धी सर्वेक्षणका अनुसार ७८.९ प्रतिशत विदेशी श्रमिक ५० जनाभन्दा कम कर्मचारी भएका व्यवसायमा कार्यरत छन्।
साना व्यवसायमा विदेशी श्रमिकको संख्या धेरै हुनु र त्यहीँ दुर्घटनाको जोखिम पनि उच्च हुनुले यस्ता कार्यस्थलको सुरक्षा चुनौतीपूर्ण बनेको समाचारमा भनिएको छ। ठूला कम्पनीको तुलनामा साना कम्पनीमा सुरक्षा तथा स्वास्थ्यसम्बन्धी विशेषज्ञ र दुर्घटना न्यूनीकरण गर्न आवश्यक आर्थिक स्रोत सीमित हुँदा समस्या देखिने गरेको छ। साथै, विदेशी श्रमिकमा भाषाको समस्या र सुरक्षा तालिममा सीमित पहुँच हुँदा पनि जोखिम थप बढेको जानकारहरुले बताएका छन्।
केही अवस्थामा दुर्घटनापछि क्षतिपूर्ति पाउने व्यवस्थामा पनि समस्या देखिएको छ। कोरियामा पूर्णकालीन काम गर्ने पाँच जनाभन्दा कम श्रमिक भएका कृषि तथा मत्स्य व्यवसायलाई औद्योगिक दुर्घटना क्षतिपूर्ति बिमामा अनिवार्य आबद्ध हुन नपर्ने व्यवस्था छ। यस्ता कार्यस्थलमा दुर्घटनाको सामना गर्नुपरे यसको विवरण सरकारी तथ्यांकमा नसमेटिनसक्ने अवस्था छ।
समाचारमा उल्लेख भएअनुसार त्यहाँको सरकारले सन् २०२२ मा विदेशी श्रमिक रोजगारसम्बन्धी कानुनको कार्यान्वयन नियमावली संशोधन गर्दै रोजगार अनुमति लिन चाहने रोजगारदाताले औद्योगिक दुर्घटना बिमा वा माछा मार्ने जहाजका श्रमिकको दुर्घटना क्षतिपूर्ति बिमामा आबद्ध हुनुपर्ने व्यवस्था गरेको थियो। तर बिमा गरिएको छ कि छैन भन्ने अनुगमन कमजोर भए श्रमिक दुर्घटनामा पर्दा क्षतिपूर्ति नपाउने जोखिम देखिन्छ। गत फेब्रुअरीमा जेओन बुक क्षेत्रमा पशुपालन फार्ममा काम गर्ने एक विदेशी श्रमिकको औंला काटिए पनि फार्म सञ्चालकले बिमा नगरेको खुलेको थियो।
कोरियाको राष्ट्रिय सभाका सांसद चोइ की–साङले विदेशी श्रमिक कार्यरत सबै कार्यस्थलमा आकार वा श्रमिकको बसोबासको अवस्थालाई नहेरी सुरक्षा तथा स्वास्थ्य अनुगमन बलियो बनाउनुपर्ने माग गरेको जनाइएको छ। औद्योगिक दुर्घटना रोकथाम र क्षतिपूर्ति प्रणालीबाट कुनै विदेशी श्रमिक वञ्चित नहुनेगरी कानुन संशोधन गर्नुपर्ने उनको माग छ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जाने नेपालीहरु साना उद्योग व्यवसायमा अदक्ष कामदारको रुपमा जाँदै आएका छन्। विदेशी श्रमिकमा निर्भर यस्ता कम्पनीमा रोजगारीको अवसरलाई मात्र नभएर कार्यसथल सुरक्षा, दुर्घटनापछि पाइने क्षतिपूर्ति जस्ता विषयमासमेत ध्यान दिनपर्ने देखिन्छ।