काठमाडौं– नेपाली कांग्रेसले आइतबारदेखि सुरु हुने १५औं महाधिवेशनमा करिब आठ हजार महाधिवेशन प्रतिनिधि सहभगी गराउने तयारी गरेको छ। १४औं महाधिवेशनमा चार हजार ७०० को हाराहारी महाधिवेशन प्रतिनिधि सहभागी गराएको कांग्रेसले यसपटक झण्डै दोब्बर प्रतिनिधि सहभागी गराउन लागेको हो।
सुरुमा छ हजार ७०० महाधिवेशन प्रतिनिधि सहभागी गराउने भनिए पनि शुक्रबार पत्रकार सम्मेलन गरी कांग्रेसले सात हजार ७०० महाधिवेशन प्रनिनिधि हुने जनाएको छ। ‘यो महाधिवेशनमा सात हजार ७०० भन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन्। कांग्रेसको इतिहासमा नै पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको हो,’ कांग्रेस प्रवक्ता देवराज चालिसेले भने।
आइतबार काठमाडौंको खुल्लामञ्चमा उद्घाटन हुने महाधिवेशनका लागि मञ्च बनाउन सुरु गरिएको छ। बन्दसत्र र निर्वाचन भने कांग्रेसले भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा गर्दै छ।
अतिथिमा देउवादेखि ओलीसम्म
कांग्रेस प्रवक्ता चालिसेले पूर्वसभापति शेरबहादुर देउवालाई सम्मानित नेताका रुपमा उद्घाटनमा निम्तो दिएको बताए। ‘सम्मानित नेताका रुपमा पूर्वसभापति शेरबहादुर देउवालाई उद्घाटनका लागि निम्ता दिइएको छ,’ पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले भने। देउवा भने अलग्गै महाधिवेशन प्रक्रिया अघि सारेर क्षेत्रीय प्रतिनिधिमा निर्वाचत भइसकेका छन्। देउवा समूहले मंसिर २१ बाट महाधिवेशन गर्दै छ। बिहीबारबाट देउवा समूहले देशभर वडा अधिवेशन सुरु गरेको छ।
उदघाटनसत्रमा विभिन्न राजनीतिक दलको नेतृत्वसमेत आमन्त्रण गरिएको छ। कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले प्रमुख राजनीतिक दलका प्रमुखहरुलाई निमन्त्रणा गरिसकेको कांग्रेसले जनाएको छ। ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टी महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चा अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन कार्यक्रममा सहभागी हुनुहुने निश्चित भएको छ,’ कांग्रेस प्रवक्ता चालिसेले भने।
बास प्रतिनिधि आफैंले व्यवस्था गर्नुपर्ने, खाना भृकुटीमण्डपमा
कांग्रेस महाधिवेशन प्रतिनिधिहरुले यसपटक बास आफैंले व्यवस्थापन गर्नुपर्ने भएको छ। यसका लागि काठमाडौंका विभिन्न क्षेत्रमा बासको व्यवस्थापन गर्ने कांग्रेसले जनायो।
आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको जनायो।
‘आवासबापतको सम्पूर्ण खर्च एवं कार्यक्रमस्थलसम्म आवतजावत खर्च सहभागी स्वयंले बेहोर्ने गरी प्रबन्ध मिलाइएको छ। आवासका लागि एयअरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ,’ कांग्रेसले भनेको छ।
खाना भने बिहान, दिउँसो र साँझको गरी भृकुटीमण्डपमा व्यवस्था गरिएको छ।
महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्ने
कांग्रेसले १५औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ। कांग्रेस प्रवक्ता चालिसेले १५औं महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उम्मेदवारहरुलाई आग्रह गरिएको बताए। ‘१५औं महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री सहरमा टाँसिदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरुलाई आग्रह गरिएको छ, वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ,’ प्रवक्ता चालिसेले भने।
कार्यक्रमस्थलमा एउटा मूल गेटबाहेक अरु कुनै प्रचार सामग्री सहर बजारमा नटाँगिने कांग्रेसले जनायो। ‘असोज १५ देखि काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहर बजारमा रहेका करिब १०० डिजिटल बोर्डबाट १५औं महाधिवेशनसम्बन्धी सूचना र सन्देशहरु प्रवाह गर्न सुरु गरिएको छ। महाधिवेशनमा हुने निर्वाचनमा उम्मेदवार हुने साथीहरुलाई पनि प्रचारप्रसारका डिजिटल माध्यममात्र प्रयोग गर्न पार्टी आग्रह गर्दछ,’ चालिसेले भने।
उम्मेदवारी दर्ता सोमबार
१५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि असोज १९ गते उम्मेदवारी दर्ता हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले शुक्रबार जारी गरेको सूचनाअनुसार उम्मेदवारको मनोनयनपत्र असोज १९ गते सोमबार दिउँसो २ देखि साँझ ६ बजेसम्म राष्ट्रिय सभागृहमा दर्ता गरिने छ।
समितिले तोकिएको समयभित्र योग्य उम्मेदवारलाई मनोनयनपत्र दाखिला गर्न आह्वान गरेको छ। निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण पछि प्रकाशित गरिने समितिले जनाएको छ।
सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०८३’ अनुसार सभापतिमा उम्मेदवारी दिनका लागि महाधिवेशन प्रतिनिधिबाट १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, केन्द्रीय उपसभापति र केन्द्रीय महामन्त्रीका लागि उम्मेदवार सात जना प्रस्तावक र सात जना समर्थक हुनुपर्ने छ। केन्द्रीय सहमहामन्त्रीका लागि पाँच जना प्रस्तावक र पाँच जना समर्थक तथा केन्द्रीय सदस्यका लागि तीन जना प्रस्तावक र तीन जना समर्थक आवश्यक पर्ने व्यवस्था निर्वाचन निर्देशिकामा गरिएको छ।
यस्तै, उपसभापति र महामन्त्रीका लागि ३० हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ। असोज १९ र २० गते बन्दसत्र भएपछि २१ र २२ गते निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको छ।
विधान संशोधन गरिने
कांग्रेसले महाधिवेशनबाट विधानको संशोधन गर्ने भएको छ। विधान संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले विधान संशोधनका लागि काम गरिरहेको कांग्रेसले जनायो। ‘उहाँहरूले छलफल सुझाव लिने क्रम जारी राख्नुभएको छ। मौजुदा विधानमा पनि केही थपघट र परिवर्तन हुन सक्ने सम्भावना, किनकि त्यसको सर्वाधिकार महाधिवेशनले राख्दछ। महाधिवेशनको हलमा हामीले आफ्ना प्रस्तावहरू लानेछौं, ती प्रस्तावलाई छलफलपश्चात् पारित भएपछि अनि निर्वाचनको प्रक्रिया प्रारम्भ हुने छ,’ चालिसेले भने।
अधिवेशन नेतृत्व चयनमात्रै नभएर पार्टीले लिने आगामी दिशा पनि त्यसको अर्थपूर्ण रहने उनले बताए।