काठमाडौं- नेपाली कांग्रेसको आगामी असोज १८ देखि काठमाडौँमा हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ । कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको संयोजकत्वमा रहेको महाधिवेशन समारोहस्थल व्यवस्थापन समितिले काठमाडौँको खुलामञ्चमा मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिएको हो ।
कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले महाधिवेशन उद्घाटनस्थल र बन्दसत्र गर्न मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिइएको जानकारी दिए । “उद्घाटन सत्रका लागि मञ्च र बन्दसत्रका लागि छुट्टाछुट्टै तीनवटा हल निर्माण भइरहेको छ, भोलि बेलुकासम्म मञ्च व्यवस्थापनको काम सम्पन्न हुन्छ”, क्षेत्रीय सभापति तिवारीले भने ।
मञ्च व्यवस्थापनको पछिल्लो अवस्थाबारे बुझ्न पार्टी उपसभापति विश्वप्रकाश शर्मा, कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, नेता डा चन्द्रकान्त भण्डारी, पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललगायत खुलामञ्च पुगेका छन् । खुलामञ्चमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपसभापति शर्माले पार्टीको १५औँ महाधिवेशन असोज १८ गते दिउँसो २ः०० बजे खुलामञ्चमा भव्यताका साथ उद्घाटन हुने जानकारी दिए ।
उनले महाधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख र सोसलिष्ट इन्टरनेशनलका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिए। कांग्रेसको १५औँ महाधिवेशनमा देश र विदेशबाट सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने उनको भनाइ थियो ।
उद्घाटनसत्रको भोलिपल्ट असोज १९ देखि बन्दसत्र हुनेछ । बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि दुई हजार ५०० प्रतिनिधि अट्न मिल्नेगरी छुट्टाछुट्टै तीनवटा हलको व्यवस्था गरिएको छ । प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि नै सुरु भएको छ ।
बन्दसत्रको पहिलो दिन पार्टी सभापति गगनकुमार थापाले दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस्तै, उपसभापति, महामन्त्री र कोषाध्यक्षले समेत नीतिगत, साङ्गठनिक र आर्थिक प्रतिवेदन पेस गर्नेछन् । महाधिवेशन प्रतिनिधिहरूलाई खानाका लागि भृकुटीमण्डपमा व्यवस्थापन मिलाइएको उपसभापति शर्माले बताए । खुलामञ्चभित्र सरसफाइ कायम राख्दै खाना/खाजा पूर्ण रूपमा निषेध गरिएको छ । यस्तै, प्रतिनिधिका लागि न्यूनतम शुल्कमा आवासको प्रबन्ध मिलाइएको कांग्रेसले जनाएको छ ।
त्यसैगरी, खुलामञ्चको मञ्च नजिकै सञ्चारकर्मीका लागि मिडिया सेन्टरको व्यवस्था गरिएको उपसभापति शर्माले बताए । महाधिवेशन अवधिभर दिनको दुईपटक पार्टी प्रवक्ता देवराज चालिसेले दैनिक ब्रिफिङ गर्ने कांग्रेसले जनाएको छ । बन्दसत्रमा पनि पालैपालो मिडिया प्रवेशको व्यवस्था मिलाइने शर्माले बताए ।