काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष तथा ग्लोबल राइजिङ ग्रुपका अध्यक्ष महेश कुमार बस्नेतलाई युनिभर्सल पिस फेडेरेसनले 'एम्बेसडर फर पिस'ले सम्मान गरेको छ।
नेपाली समाजमा पुर्याएको योगदान, सामाजिक उत्तरदायित्व तथा शान्ति, सहकार्य र आपसी समझदारी प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै बस्नेतलाई उक्त सम्मान प्रदान गरिएको हो।
२ अक्टोबर- संयुक्त राष्ट्रसंघको International Day of Non-Violence का अवसरमा आयोजित कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानका उपकुलपति प्रा. डा. जनार्दन लामिछानेले बस्नेतलाई उक्त सम्मान प्रदान गरेका हुन्। संयुक्त राष्ट्रसंघले हरेक वर्ष २ अक्टोबरलाई महात्मा गान्धीको जन्मदिनको अवसरमा International Day of Non-Violence का रूपमा मनाउँदै आएको छ।
वैदेशिक रोजगार व्यवसाय तथा व्यावसायिक नेतृत्वको क्षेत्रमा लामो समयदेखि सक्रिय बस्नेतले नेपाली युवालाई अन्तर्राष्ट्रिय रोजगारीका अवसरसँग जोड्ने, रोजगारीमार्फत परिवार तथा समाजको आर्थिक स्थायित्वमा योगदान गर्ने र वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित तथा मर्यादित बनाउन विभिन्न भूमिकामा काम गर्दै आएका छन्। हाल उनी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्षका रुपमा कार्यरत छन् ।
सम्मान ग्रहण गर्दै बस्नेतले 'एम्बेसडर फर पिस'को उपाधिलाई व्यक्तिगत उपलब्धिभन्दा पनि समाजप्रति थप जिम्मेवार भएर काम गर्ने प्रेरणा र प्रतिबद्धताका रूपमा लिएको बताए।
उनले शिक्षा, सीप र रोजगारीलाई विश्व बजारसँग जोड्न सकेमा युवाका लागि अवसर सिर्जना हुनुका साथै परिवारको आर्थिक अवस्था, सामाजिक स्थायित्व र शान्तिपूर्ण समाज निर्माणमा समेत योगदान पुग्ने धारणा व्यक्त गरे।
बस्नेतले आगामी दिनमा पनि युवालाई रोजगारीका अवसरसँग जोड्ने, सामाजिक सहकार्य प्रवर्द्धन गर्ने तथा शान्ति, सम्मान र समझदारीको संस्कारलाई आफ्नो कार्यक्षेत्रबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
वैदेशिक रोजगार व्यवसाय र सामाजिक नेतृत्वको क्षेत्रमा सक्रिय बस्नेतलाई प्राप्त यो अन्तर्राष्ट्रिय सम्मानले नेपालको वैदेशिक रोजगार क्षेत्रसँग जोडिएको नेतृत्वलाई शान्ति, सामाजिक उत्तरदायित्व र विश्वव्यापी सहकार्यको अभियानसँग जोडिएको सन्देश दिएको छ।