काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रोजगारीमा जान आवेदन दिएका तर छनोट नभएका व्यक्तिको विवरण दिन नसक्ने जनाएको छ । वैदेशिक रोजगार विभागले गत सोमबार रोजगारीमा कामदार पठाउने प्रयोजनका लागि प्रकाशित विज्ञापनमा आवेदन दिएका तर छनोट नभएका व्यक्तिको नाम तथा छनोट नभएको कारण सहितको विवरण वेबसाइटमा प्रकाशन गरी उपलब्ध गराउन संघसँग अनुरोध गरेको थियो ।
बिहीवार संघले विभागका महानिर्देशक नवराज ढकाललाई ध्यानाकर्षण पत्र बुझाउदै छनोट नभएकाको व्यक्तिगत विवरण सार्वजनिक गर्दा उनीहरूको गोपनीयता, प्रतिष्ठा तथा आत्मसम्मानमा प्रत्यक्ष असर पर्न सक्ने जिकिरसमेत गरेका छन् । आवेदनकर्ताको नामसँगै छनौट नभएको कारण, शारीरिक अवस्था, स्वास्थ्य, व्यक्तिगत योग्यता वा आचरणसँग सम्बन्धित विवरण सार्वजनिक रूपमा प्रकाशन गर्नु उपयुक्त नहुने दाबी पत्रमा गरिएको छ ।
संघले सम्बन्धित व्यक्तिको स्पष्ट मञ्जुरी बिना व्यक्तिगत विवरण सार्वजनिक गरेको अभियोग लाग्न सक्ने र नैतिक भर्ना प्रक्रिया अन्तर्गत श्रमिक पठाउँदा कम्पनीको पोलिसी र आचारसंहिता विपरित हुने भएकाले व्यक्तिगत विवरण तथा छनोट नभएको व्यक्तिगत कारण सार्वजनिक रूपमा प्रकाशन गर्नु कानूनसम्मत नहुने पत्रमा उल्लेख गरेको छ ।
कतिपय अवस्थामा अन्तरवार्तामा छनोट नहुने सबैको विवरण माग्ने काम अव्यवहारिकसमेत हुने संघका तृतीय उपाध्यक्ष लक्ष्मण पौडेलले बताए । ‘इथिकल रिक्रुटमेन्टको केसमा ४० जनाको कोटामा चार हजारले आवेदन दिने पनि हुन्छ । यस्तो अवस्थामा कम्पनीले सबैको अन्तरवार्ता लिएर बस्दैन । आफूलाई चाहिने जति लिएर त्यत्तिकै छोडिदिन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा छनोट नहुनेको विवरण उपलब्ध गराउनु त्यत्ति व्यवहारिक हुँदैन । साथै त्यो व्यक्ति स्वयंको गोपनियता हनन हुने विषय हो ।’ संघले अन्तरवार्तामा छनोट भएकाकोमात्र विवरण बुझाउन सक्ने जनाएको छ ।