काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित महावाणिज्यदूतावासले राहदानी डेलिभरी गर्ने भएको छ।
शुक्रबार एक सूचना जारी गर्दै महावाणिज्यदूतावासले युएईको सरकारी हुलाक सेवा इमिरेट्स पोस्टमार्फत सम्बन्धित आवेदककै ठेगानामा राहदानी डेलिभरी हुने व्यवस्था मिलाइएको जनाएको हो।
बनेर आएका नयाँ राहदानी लिनका लागिमात्र महावाणिज्यदूतावासमा पुग्न छुट्टि नमिल्ने, समय र यात्रा खर्च हुने भएकाले हुलाकमार्फत राहदानी डेलिभरी गराइदिन धेरै सेवाग्राहीहरुले अनुरोध गरेकाले उक्त सेवा सुरु गरिएको जनाइएको छ।
राहदानी आवेदन दिनेहरुका लागि युएईको सरकारी हुलाक सेवा इमिरेट्स पोस्टबाट सम्बन्धित आवेदककै ठेगानामा राहदानी डेलिभरी हुने व्यवस्था मिलाइएको छ।
सूचनाका अनुसार राहदानी डेलिभरीको सेवा लिन चाहनेहरुले बायोमेट्रिक दिएकै समयमा महावाणिज्यदूतावासमा डेलिभरी फाराम भरेर छोड्नु पर्ने छ। राहदानी तयार भइसकेपछि डेलिभरीका लागि इमिरेट्स पोस्टलाई दिइने छ।
यो सेवा लिनेहरुले डेलिभरीको समयमा इमिरेट्स पोस्टलाई डेलिभरी शुल्कबापत भ्याटसहित १५.७५ दिराम बुझाउनुपर्ने छ।
यो सेवा अनिवार्य नभएकाले व्यक्तिले आफ्नो आवश्यकताअनुसार उपयोग गर्न सक्ने जनाइएको छ।