काठमाडौं– रोजगार मेला अयोजना गर्ने विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जापानको एक टोलीसँग छलफल गरेको छ।
आउँदो नोभेम्बरमा मेला आयोजना गर्ने हिसाबले उक्त टोलीसँग बुधबार छलफल गरिएको संघले जनाएको छ।
जापानको कृषि क्षेत्रमा धेरै श्रमिकको माग भएकाले जापानका रोजगारदाता र नेपालका म्यानपावर एजेन्सीलाई एकै ठाउँमा ल्याउन मेला आयोजना गर्न खोजिएको संघका अध्यक्ष डिकबहादुर खत्रीले बताए। नेपालका एजेन्सीहरु जापान जाँदा बढी खर्चिलो हुने भएकाले जापान पक्षलाई नै नेपालमा बोलाउन खोजिएको खत्रीको भनाइ छ।
‘उता जाँदा खर्चिलो हुन्छ। त्यसैले उताका रोजगारदातालाई यता बोलाउन पाए हुन्थ्यो भनेर तयारी गरिरहेको हो,’ उनले भने, ‘मेलामा रोजगारदाता र रिक्रुटिङ एजेन्सीहरुको भेट गराउने हो। हाम्रा एजेन्सीहरु गएर व्यावसायिक सम्बन्ध स्थापित गर्लान्।’
मेला आयोजना गर्ने विषयमा बुधबार एउटा टोलीसँग प्रारम्भिक छलफल भएको खत्रीले बताए। अझै धेरै रोजगारदातासँग छलफल आवश्यक रहेको उनको भनाइ छ।
मेलाले नेपाली श्रमिकलाई परम्परागत श्रम गन्तव्यबाट उदयीमान गन्तव्यतर्फ स्थानान्तरण गर्न सहयोग पुग्ने संघको अपेक्षा छ।