ज्युरिख- नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनिज (नास-आइटी) को आयोजना तथा स्विस-नेपाल चेम्बर अफ कमर्स (एसएनिससी) को सहकार्यमा ‘नेपाल टेक रोडशो स्वीट्जरल्याण्ड २०२६’ सम्पन्न भएको छ।
सेप्टेम्बर १६ मा स्वीट्जरल्याण्डको ज्युरिखमा आयोजित कार्यक्रममा नेपाल र स्वीट्जरल्याण्डका व्यवसायी, प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा सरोकारवालाबीच नेपाली आइटी उद्योगको सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो।
कार्यक्रममा नेपालको बढ्दो आइसिटी क्षेत्र, दक्ष जनशक्ति, डिजिटल नवप्रवर्तन, आइटी निर्यात तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सफ्टवेयर विकास, साइबर सुरक्षा, क्लाउड सेवा, डेटा इन्जिनियरिङ र डिजिटल रूपान्तरणका क्षेत्रमा नेपालको क्षमता र दक्षता प्रस्तुत गरिएको थियो।
नास–आइटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली आइटी उद्योगले अन्तर्राष्ट्रिय बजारमा आफ्नो क्षमता प्रस्तुत गर्दै नयाँ व्यावसायिक अवसर र सहकार्य विस्तार गर्नुपर्ने बताए। नेपाली आइटी कम्पनीहरूको सेवा र प्रविधि समाधानलाई विश्वबजारसम्म पुर्याउने उद्देश्यले रोडशो आयोजना गरिएको उनको भनाइ थियो।
कार्यक्रममा स्विस-नेपाल चेम्बर अफ कमर्सले नेपाल-स्वीट्जरल्याण्ड व्यापार तथा प्रविधि सम्बन्ध र नेपाली आइटी कम्पनी तथा स्वीस व्यवसायबीच सहकार्यका सम्भावनाबारे जानकारी दिएको थियो।
रोडशोमा नेपालका १८ वटा आइटी कम्पनीले एक–एक मिनेटको कम्पनी पिचमार्फत आफ्ना सेवा, विशेषज्ञता र प्रविधि समाधानबारे जानकारी दिएका थिए।
एआई, साइबर सुरक्षा, प्रडक्ट डेभलपमेन्ट, आइटी सर्भिसेस, बिपिओ, कस्टम वेब तथा एप्लिकेसन डेभलपमेन्ट, क्लाउड इन्फ्रास्ट्रक्चर र डेटा इन्जिनियरिङलगायतका क्षेत्रमा नेपाली कम्पनीहरूले गरेका काम र उपलब्धिबारे पनि चर्चा गरिएको थियो।
कार्यक्रममा सम्भावित व्यावसायिक सहकार्य, साझेदारी, लगानी तथा अन्तर्राष्ट्रिय बजार विस्तारका अवसरबारे छलफल भएको थियो।
नास–आइटीले नेपाली प्रविधि उद्योगको अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा विश्वबजारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित विभिन्न देशमा टेक रोडशो आयोजना गर्दै आएको छ। स्वीट्जरल्याण्डमा आयोजित रोडशो पनि नेपाली आइटी कम्पनीलाई अन्तर्राष्ट्रिय व्यवसाय, लगानी र सहकार्यका सम्भावनासँग जोड्ने प्रयासका रूपमा आयोजना गरिएको हो।
रोडशो स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसिडसी) लगायतका साझेदार तथा सरोकारवालाको सहयोगमा आयोजना गरिएको थियो भने स्विस-नेपाल चेम्बर अफ कमर्स सहआयोजकका रूपमा रहेको थियो।