काठमाडौं- नीलोआकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैरीगाउँ, काठमाडौँको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार तिनकुने, काठमाडौँमा संस्थाका अध्यक्ष गणेशप्रसाद अधिकारीको सभापतित्व तथा संस्थाका सल्लाहकार निमनाथ फुयालको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष अधिकारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। यस्तै, कोषाध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिएको छ।
सभाले लाभांश वितरण, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायतका विभिन्न प्रस्तावसमेत अनुमोदन गरेको छ।
साधारण सभामा प्रस्तुत वासलातअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म संस्थाको सेयर पुँजी ४ करोड ७९ लाख ३५ हजार रुपैयाँ पुगेको छ। संस्थामा ३० करोड ५८ लाख १२ हजार १३५ रुपैयाँ बचत तथा निक्षेप संकलन भएको छ भने ३२ करोड ८४ लाख ४७ हजार ९५८ रुपैयाँ ऋण लगानी भएको छ।
त्यस्तै, संस्थाको जगेडा कोषमा ४ करोड १६ लाख १२ हजार २३१ रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म संस्थाको कुल वासलात ४२ करोड ८ लाख ३१ हजार ७४४ रुपैयाँ पुगेको जनाइएको छ।
साधारण सभाको अवसरमा एसईई तथा प्लस टु उत्तीर्ण गरेका सेयरधनीका छोराछोरीलाई ‘नीलोआकाश उत्कृष्ट शैक्षिक सम्मान २०८२’ द्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा समाजसेवी, शिक्षाविद्, कानुनविद्, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सहकारीकर्मी, अभियन्ता तथा संस्थामा आबद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो। विविध कार्यक्रमसहित साधारण सभा सम्पन्न भएको संस्थाले जनाएको छ।