काठमाडौं– पहिचान पुरस्कार कोषले अघिल्ला दुई वर्षको पहिचान पुरस्कारका लागि आठ–आठ वटा उत्कृष्ट कृतिको सूची सार्वजनिक गरेको छ।
कोषको शुक्रबार बसेको बैठकले वि.सं. २०८१ र २०८२ मा प्रकाशित भई कोषमा दर्ता भएका कृतिहरूमध्येबाट उत्कृष्ट आठ–आठ वटा कृतिको संक्षिप्त सूची (सर्ट लिस्ट) छनोट गरी सार्वजनिक गरेको हो।
कोषका संस्थापक नरेश काङमाङ राईले शुक्रबार जारी गरेको विज्ञप्तिका अनुसार २०८१ को उत्कृष्ट कृतिहरूको सूचीमा श्याम सिंघकको कोइलाखाद (उपन्यास), सुरज रानाको जब कविता निस्कन्छ जुलुसमा (कविता संग्रह), डा. चित्र माबोको डोलीभर्ना (कथा संग्रह), कुमारी लामाको दज्र्यु संलाप (निबन्ध संग्रह), शकुन आँसुको नवयुगकी सुम्निमा (कविता संग्रह), जुनु रानाको रातो नदी (कविता संग्रह), खुपेन सुनुवारको ल्यान्डस्केपमा झुन्डिएको मौनता (कविता संग्रह) र राधिका कल्पितको सम्मोहन (कथा संग्रह) छनोट भएका छन्।
यसैगरी २०८२ का लागि छानिएका उत्कृष्ट आठ कृतिमा ललित विष्टको उत्कर्ष (कथा संग्रह), केदार संकेतको अन्तिम साँझ (कथा संग्रह), खगिन्द्रा खुशीको खुशीको गाउँ (उपन्यास), क्षितिज समर्पणको तोरकीन (उपन्यास), भूपिनको मध्यको उज्यालो (निबन्ध नियात्रा संग्रह), राज बान्तावाको माइला दमाई (उपन्यास), सीमा आभासको महायुग (उपन्यास) र उमा सुवेदीको परिधि (उपन्यास) परेका छन्।
यी सूचीबाट प्रत्येक वर्षका लागि एक–एक वटा सर्वोत्कृष्ट कृति छनोट गरी पहिचान पुरस्कार प्रदान गरिने कोषले जानकारी दिएको छ।