काठमाडौं- सुपर मादी हाइड्रोपावर लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बिहीबार काठमाडौंको पुतलीसडकस्थित ३२ नम्बरमा कम्पनीका अध्यक्ष धनराज आचार्यको सभापतित्वमा सम्पन्न साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनसहित कम्पनीको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण, लाभांश वितरणलगायत विभिन्न विशेष प्रस्तावसमेत पारित भएका छन्।
साधारण सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको ०.७८९४७ प्रतिशतका दरले १ करोड ८२ लाख ७८ हजार २८९ रुपैयाँ ४७ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। साथै, चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर, अर्थात् ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार गत आर्थिक वर्षमा वितरण गरिएको ५ प्रतिशत बोनस सेयरपश्चात कम्पनीको अधिकृत पुँजी ३ अर्ब ४७ करोड २८ लाख ७५ हजार रुपैयाँ तथा चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ पुगेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म २३ करोड २ लाख ५६ हजार ५४८ किलोवाट घण्टा (किलोवाट-आवर) विद्युत् उत्पादनगर्न सफल भएको जनाएको छ।
साधारण सभामा सेयरधनीहरूले उठाएका विभिन्न प्रश्न तथा जिज्ञासाको जवाफ अध्यक्ष आचार्यसहित कम्पनीका पदाधिकारीहरूले दिएका थिए। विभिन्न कार्यक्रमसहित साधारण सभा सम्पन्न भएको कम्पनीले जनाएको छ।
यसैबीच, हालै भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका लागि सहयोगस्वरूप कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी पनि साधारण सभामा दिइएको थियो।