काठमाडौं- एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सिराहा, बर्दिया, सुनसरी र मोरङका चार सामुदायिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर तथा प्रोजेक्टर सहयोग गरेको छ।
विद्यार्थीको पठनपाठनलाई सहज तथा सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले बैंकले धनगढीमाई नगरपालिका-९, सिराहास्थित श्री महावीर माध्यमिक विद्यालय चैनपुर, ठाकुरबाबा नगरपालिका-२ कर्मला, बर्दियास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, इटहरी उपमहानगरपालिका-१९ जब्दी, सुनसरीस्थित श्री पञ्चायत रजत जयन्ती आधारभूत विद्यालय र सुनवर्षी नगरपालिका-२ अमरदह, मोरङस्थित श्री वीरेन्द्र सार्वजनिक विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराएको हो।
बैंकका अनुसार भदौ ३१ गते श्री महावीर माध्यमिक विद्यालय चैनपुरलाई एक थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर हस्तान्तरण गरिएको छ। बैंकका लहान सर्कल हेड लेखराज पौडेल र लहान शाखा प्रमुख राजेश्वर शाहले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक राम कुमार ठाकुरलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। विद्यालयमा हाल ६७२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
सोही दिन श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई एक थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर प्रदान गरिएको बैंकले जनाएको छ। बैंकका मगरागढी शाखा प्रमुख महेन्द्र बहादुर शाहीले विद्यालयका प्रधानाध्यापक कलम बहादुर शाहीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। विद्यालयमा २९३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
त्यस्तै, इटहरी उपमहानगरपालिका-१९ जब्दीस्थित श्री पञ्चायत रजत जयन्ती आधारभूत विद्यालयलाई दुई थान ल्यापटप र तीन थान डेस्कटप कम्प्युटर प्रदान गरिएको छ। बैंकका इटहरी सर्कल हेड विशाल घिमिरे र तरहरा शाखा प्रमुख सन्देश भण्डारीले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक गोपीकृष्ण दंगाललाई सामग्री हस्तान्तरण गरेका थिए। उक्त विद्यालयमा १६९ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बैंकले जनाएको छ।
मोरङको सुनवर्षी नगरपालिका-२ अमरदहस्थित श्री वीरेन्द्र सार्वजनिक विद्यालयलाई पनि बैंकले दुई थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर उपलब्ध गराएको छ। भदौ ३० गते आयोजित कार्यक्रममा बैंकका दमक सर्कल हेड भुपेन्द्र पौडेलले विद्यालयका प्रधानाध्यापक धन बहादुर बस्नेतलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। विद्यालयमा हाल १ हजार १५७ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
बैंकले चारवटै विद्यालयलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीको पठनपाठनमा प्रविधिको प्रयोग बढाउन तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।