काठमाडौं- रोयल इनफिल्डले नेपालमा हन्टर ३५० मोटरसाइकलको नयाँ भेरिएन्ट सार्वजनिक गरेको छ। कम्पनीले नयाँ टार्माक ब्ल्याक भेरिएन्टसँगै मुम्बई यल्लो र मुनसर्ट ह्वाइट गरी दुई नयाँ रङमा हन्टर ३५० बजारमा ल्याएको हो।
नयाँ भेरिएन्टमा यल्लो ह्विल्स, डिजिटल-एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस तथा सिंगल-च्यानल एबीएसलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ। हन्टर ३५० को सहज राइडिङ, चुस्त ह्यान्डलिङ र पियर मोटरसाइकलिङको विशेषतालाई नयाँ भेरिएन्टमा समेत निरन्तरता दिइएको कम्पनीको भनाइ छ।
नेपालमा अघिल्लो वर्ष सार्वजनिक गरिएको हन्टर ३५० आफ्नो कम्प्याक्ट डिजाइन, नियो-रेट्रो लुक र सहज राइडिङ अनुभवका कारण नयाँ पुस्ताका युवामाझ लोकप्रिय हुँदै आएको कम्पनीले जनाएको छ। दैनिक प्रयोगमा सहज र पहुँचयोग्य बनाउने उद्देश्यले टार्माक ब्ल्याक भेरिएन्ट बजारमा ल्याइएको कम्पनीको भनाइ छ।
हन्टर ३५० को मौलिक रोडस्टर डिजाइनलाई कायम राख्दै नयाँ भेरिएन्टमा एलोय ह्विल्स, राउन्ड हेलोजन हेडल्याम्प, डिजिटल-एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, रोटरी स्विच गियर, स्टिच्ड सिट र स्पोर्टी ग्राब रेल उपलब्ध छन्। त्यस्तै, सिंगल-च्यानल एबीएस तथा स्लिप एन्ड असिस्ट क्लच पनि यसको विशेषताका रूपमा रहेको कम्पनीले जनाएको छ। स्लिप एन्ड असिस्ट क्लचले गियर परिवर्तनलाई सहज बनाउने कम्पनीको दाबी छ।
नयाँ थपिएका मुम्बई यल्लो र मुनसर्ट ह्वाइट रङले ग्राहकलाई आफ्नो रुचि र शैलीअनुसार मोटरसाइकल छनोट गर्ने थप अवसर दिने कम्पनीको भनाइ छ। मुम्बई यल्लो मुम्बईको कला, चलचित्र, जीवन्तता र सहरी वातावरणबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। चम्किलो पहेँलो फिनिसले मोटरसाइकललाई आकर्षक र युवा लुक दिने बताइएको छ।
त्यसैगरी, मुनसर्ट ह्वाइटमा ‘ओरायन’ अर्थात् सिकारी नक्षत्रबाट प्रेरित ग्राफिक्स तथा आकाशीय तत्त्व प्रयोग गरिएको कम्पनीले जनाएको छ। यसले हन्टर ३५० लाई फरक र व्यक्तिगत पहिचान प्रदान गर्ने कम्पनीको दाबी छ। हन्टर ३५० को नयाँ टार्माक ब्ल्याक भेरिएन्टको मूल्य ४ लाख ८७ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, मुम्बई यल्लो र मुनसर्ट ह्वाइट रङमा उपलब्ध टप भेरिएन्टको मूल्य ५ लाख १ हजार १०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ। नयाँ मोटरसाइकलको बुकिङ तथा बिक्री १६ सेप्टेम्बर २०२६ देखि नेपालभर रहेका अधिकृत रोयल इनफिल्ड डिलरमार्फत सुरु भएको कम्पनीले जनाएको छ।
उद्घाटन समारोहमा नेपालमा रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोभिका निर्देशक मेघराज पौडेलले हन्टर ३५० ले नेपाली राइडरमाझ राम्रो सम्बन्ध बनाउन सफल भएको बताए। नयाँ भेरिएन्ट र रङले ग्राहकका लागि थप विकल्प सिर्जना गर्ने तथा हन्टर ३५० को बजार विस्तारमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
रोयल इनफिल्ड सन् १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको विश्वका पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो। बेलायतबाट सुरु भएको यसको उत्पादन सन् १९५५ देखि भारतको मद्रासबाट हुँदै अन्य विभिन्न सहरमा विस्तार भएको हो। हाल नेपालसहित बंगलादेश, ब्राजिल, थाइल्यान्ड, अर्जेन्टिना र कोलम्बियामा कम्पनीका सीकेडी एसेम्ब्ली प्लान्ट सञ्चालनमा रहेको जनाइएको छ।