काठमाडौं- भदौ २६ गते शुक्रबार तीन नेपालीसहित हलिउड र बलिउडका गरि ६ नयाँ फिल्म रिलिज हुँदैछन् । अहिले प्रदर्शनरत फिल्मसमेत जोड्दा शुक्रबार हलमा ११ फिल्म एकसाथ चल्नेछन्, जसले दर्शकका लागि फिल्म छनोटको विकल्प थप बढाएको हाे ।
शुक्रबारदेखि माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ र ‘बेहुली’ प्रदर्शनमा आउँदैछन् । यस्तै हलिउडको ‘फल २ 'डेडलाइन’, र बलिउडको ‘हाइवान’ र हनुमान पनि रिलिज हुँदैछन् । ‘गौथली’, ‘पार्वती’, ‘स्पाइडरम्यान’, ‘टक्सिस’ र ‘मिर्जापुर’ले पनि कम शोमा निरन्तरता पाउनेछन् ।
यस्तो प्रतिस्पर्धाबीच दयाहाङ राई अभिनित ‘पेन्सन पट्टा’ले शुक्रबारका लागि सर्वाधिक शो पाएको छ । खल्ती एपमा मात्रै ११० शो रहेको वितरक रोहित कट्टेलले बताएका छन् । यस्तै इसेवा ‘पेन्सन पट्टा’लाई ६० शो उपलब्ध गराइएको छ । अन्य हल तथा सिंगल थिएटरसमेत जोड्दा फिल्मले कुल २ सय ६ शो पाएको उनको भनाइ छ । आजै बुधवार फिल्म ‘अक्षरा’ले शो नै नपाएपछि प्रदर्शन स्थगीत गरि मंसिर २४ का लागि प्रदर्शन मिति तय गरेको छ । यसपछि पनि पेन्सन पट्टालाई शो थपिने वितरक रोहित कट्टेलले बताए ।
फिल्मले क्युएफएक्समा ४८ शो र आईएनआई चेनमा १७ शो पाएको छ । पोखराको मिड टाउनस्थित क्युएफएक्समा शुक्रबारका केही शो हाउसफुलको नजिक पुगेका छन् । क्युएफएक्स र आईएनआईका अन्य हलमा पनि अग्रिम बुकिङ उत्साहजनक रहेको निर्देशक तथा अभिनेता माओत्से गुरुङले बताएका छन् ।
‘पेन्सन पट्टा’ले लाहुरे जीवनसँग जोडिएको पेन्सनसँगै परिवार, प्रेम, त्याग, पहिचान र सम्बन्धको कथा प्रस्तुत गर्छ । बाबुकी पहिलो पत्नीको नाम पेन्सनपट्टामा भेटिएपछि वर्षौंदेखि ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रमार्फत फिल्मको कथा अघि बढ्छ । हराएको पेन्सनपट्टासँगै परिवारको विगत र लुकेका सम्बन्धका रहस्य खुल्दै जान्छन् ।
फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ । आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्ने फिल्ममा मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता छन् । सुशन प्रजापतिको छायांकन तथा सुरज तामुको कास्टिङ निर्देशन रहेको फिल्म २ घण्टा ८ मिनेट लामो र सपरिवार हेर्न मिल्ने गरी प्रमाणित भएको छ ।
धेरै फिल्मबीच प्रतिस्पर्धा हुने यो शुक्रबार ‘पेन्सन पट्टा’ले पाएको सर्वाधिक शो र अग्रिम बुकिङले दर्शकको चासो स्पष्ट देखाएको छ । परिवार, सम्बन्ध र लाहुरे जीवनसँग जोडिएको कथा हेर्न चाहने दर्शकका लागि यस शुक्रबार ‘पेन्सन पट्टा’ रोजाइ बन्न सक्छ ।