काठमाडौं- नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रम आयोजना गरी मनाएको छ। मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्ड परिसरमा विशेष समारोह आयोजना गर्दै संघले स्थापना दिवस मनाएको हो।
स्थापना दिवसको अवसरमा संघले भोटेकोशी बाढीपीडितको सहयोगार्थ बृहत् रक्तदान तथा राहत संकलन कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका थिए।
बाढीपीडितका लागि करिब चार लाख रुपैयाँ आर्थिक सहयोगसमेत संकलन भएको संघका अध्यक्ष उत्तम केसीले जानकारी दिए। उनका अनुसार हर्के हल्दार टिमबाट एक लाख ३३ हजार ३३३ रुपैयाँ र कार्यसमिति सदस्य नवीन श्रेष्ठबाट एक लाख एक हजार रुपैयाँसहित करिब चार लाख रुपैयाँबराबरको राहत रकम संकलन भएको हो।
संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने अध्यक्ष केसीले बताए। भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनुका साथै अस्पतालमा हुने रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।
कार्यक्रम चलचित्र विकास बोर्डको सहकार्य तथा मेट्रो ब्लड बैंकको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। दागान अर्गानिक टीले विशेष सहयोग गरेको कार्यक्रममा चलचित्र अक्षरा टिम र ओम प्रिन्टको समेत सहयोग रहेको आयोजकले जनाएको छ। कार्यक्रमकी प्रमुख अतिथि प्रथम नेपाली अभिनेत्री तथा संघकी पूर्वसंरक्षक भुवन चन्दले संघका संस्थापक प्रथम अध्यक्ष शान्ति मास्केको तस्वीरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गरेकी थिइन्। त्यसपछि उनले संघका वरिष्ठ उपाध्यक्ष शिवहरी नेपाल ‘बैरागी’लाई रक्तथैली हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको सुरुआत गरिन्।
प्रमुख अतिथि चन्दले स्थापना दिवसका अवसरमा आयोजित सामाजिक सेवामूलक कार्यक्रमले चलचित्र क्षेत्र र आम नागरिकबीचको सम्बन्ध थप मजबुत बनाउने बताइन् । कलाकार मनोरञ्जन क्षेत्रमा मात्र सीमित नभई विपद्का समयमा समाजसँगै उभिनुपर्ने उनको धारणा थियो। कार्यक्रममा संघका संस्थापक अध्यक्ष शान्ति मास्के तथा कलाकार संघको स्थापना, उद्देश्य र नेपाली चलचित्र क्षेत्रमा संघले पुर्याउँदै आएको योगदानबारे वरिष्ठ कलाकार, संघका सल्लाहकार तथा पूर्वअध्यक्ष कृष्ण मल्लले प्रकाश पारेकी थिइन्। महासचिव सुनिल कटुवालले स्वागत मन्तव्य राख्दै कलाकारको हकहित, सामाजिक उत्तरदायित्व र चलचित्र क्षेत्रको विकासमा संघले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरे।
संघका निवर्तमान अध्यक्ष मोहन निरौलाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने सामूहिक पहल सराहनीय रहेको बताए। कार्यक्रममा पूर्वअध्यक्ष रविन्द्र खड्का, कृष्ण मल्ल र रमेश बुढाथोकी तथा संघका सल्लाहकार एवं चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दिनेश डिसीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मानार्थ सदस्य डा. सुवास घिमिरे, डा. श्याम खड्का, द्वन्द्व निर्देशक उदय सिंह बोहरा तथा विशिष्ट चलचित्रकर्मी लय संग्रौला, राजु शाह, मुकुन्द आचार्य, उमेश खड्का, तारा शर्मा, रेजिना उप्रेती, रामकाजी घिमिरेलगायतको उपस्थिति थियो। रक्तदान गर्ने कलाकार तथा अन्य रक्तदातालाई संघका तर्फबाट प्रशंसापत्रसमेत प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन संघका सचिव गोपाल ढकाल ‘छन्दे’ले गरेका थिए भने संघकी उपाध्यक्ष पूजना स्त्रीले सहभागी, रक्तदाता, सहयोगी तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। अध्यक्ष केसीले कलाकारको पेशागत अधिकारसँगै समाजप्रतिको दायित्वलाई पनि संघले प्राथमिकतामा राख्दै आएको बताए । स्थापना दिवसलाई औपचारिक उत्सवमा मात्र सीमित नगरी सामाजिक, मानवीय तथा जनचेतनामूलक गतिविधिसँग जोड्दै लैजाने संघको नीति रहेको उनले स्पष्ट पारे। संघले आगामी दिनमा कलाकारको व्यावसायिक तथा सामाजिक भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।