काठमाडौं- तामाङ कलाकार संघले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित कलाकार तथा अति प्रभावित परिवारलाई ९ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
संघका अध्यक्ष विशाल काल्तानका अनुसार संस्थागत रूपमा ५० हजार रुपैयाँ तथा संघका पदाधिकारी र सदस्यहरुबाट ८ लाख ५० हजार रुपैयाँ गरी कुल ९ लाख रुपैयाँ संकलन गरिएकाे छ।
संकलित रकम बिहीबार बाढीबाट प्रभावित कलाकारका परिवार तथा अतिप्रभावित परिवारलाई हस्तान्तरण गरिने अध्यक्ष काल्तानले जानकारी दिए।
“हालका लागि राहत संकलनको आन्तरिक अभियान बन्द भएको छ। संकलित ९ लाख रुपैयाँ प्रभावित कलाकारका परिवार र अतिप्रभावित परिवारलाई हस्तान्तरण गर्ने संस्थाले निर्णय गरेको छ,” अध्यक्ष काल्तानले भने।
यसअघि संघले बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा आइतबार काठमाडौंको बौद्धमा दीप प्रज्ज्वलनसमेत गरेको थियो।