विद्यमान जबर्जस्ती करणीसम्बन्धी कानुनी व्यवस्थामा सुधारको खाँचो छ भनेर आवाज उठ्ने गरेको छ । बलात्कारजस्तो गम्भीर अपराध नियन्त्रणका लागि बनेका अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपालको कानुन अलि फितलो छ । प्रचलित कानुनले बलात्कारलाई बलात्कार मान्दैन ।
नेपालमा बलात्कारका घटनासम्बन्धी पछिल्लो उपलब्ध जानकारी हेर्दा, हालै निकै चर्चामा आएको घटना बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या हो । त्यस्तै सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको छ । पछिल्ला पाँच आर्थिक वर्षमा हरेक वर्ष औसत २५० जना १० वर्षभन्दा कम उमेरका बालिका बलात्कारको घटनामा पीडित भएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ ।


पछिल्लो समय वैवाहिक बलात्कारका घटनाहरु पनि बढ्न थालेका छन् । बलात्कारका घटना बढेसँगै वैवाहिक बलात्कारका घटनासमेत सार्वजनिक हुने क्रम बढ्दो छ । हिजो आज आधुनिकीकरणसँगै नैतिक मूल्य, मान्यता र आदर्शमा ठूलो ह्रास आएको छ । कुनै व्यक्ति बलात्कार गर्न त्यस समय उत्तेजित हुन्छ, जब उसमा यौन उत्तेजना धेरै देखिन्छ, तर यौन उत्तेजना मेट्ने साधन प्राप्त हुँदैन । वास्तवमा पुरुषले महिलालाई यौन सन्तुष्टिको साधन मानेका कारण नै बलात्कारको घटना हुने गर्छ । अहिले निर्माण भएका फिल्महरुलेसमेत यौन दुव्र्यवहारमा बढवा दिएको देखिन्छ । प्रायः हिन्दी फिल्म, नेपाली फिल्ममा यस्ता दृश्यहरु राखिएको छ । बलात्कृत महिलालाई शारीरिक, मानसिक तथा भावनात्मक रुपमासमेत चोट परेको हुन्छ । नेपालजस्ता देशहरुमा बलात्कारका अधिकांश घटनाहरु प्रकाशमा नै आउँदैनन् ।
अहिले विद्यमान जबर्जस्ती करणीसम्बन्धी कानुनी व्यवस्थामा सुधारको खाँचो छ भनेर आवाज उठ्ने गरेको छ । बलात्कारजस्तो गम्भीर अपराध नियन्त्रणका लागि बनेका अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपालको कानुन अलि फितलो छ । प्रचलित कानुनले बलात्कारलाई बलात्कार मान्दैन । बलात्कार जनाउन प्रयोग हुने कानुनी शब्द हो, जबर्जस्ती करणी । यसअघिको मुलुकी ऐनमा ‘जबर्जस्ती करणीको महल’ थियो । हाल प्रचलित मुलुकी अपराधसंहितामा पनि ‘जबर्जस्ती करणी’ सम्बन्धी परिच्छेद् छ । जबर्जस्ती करणी भन्नाले हिंसाको प्रयोगबाट करणी सम्पन्न भएकै हुनुपर्ने अनिवार्य हुनुपर्नेजस्तो देखिन्छ तर हिंसाविना पनि बलात्कार हुनसक्छ । यसतर्फ कानुन निर्माताहरुको ध्यान पुगेको देखिँदैन ।
अपराधसंहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरे बलात्कार गरेको मान्छ । सोही दफाले मञ्जुरीविना गुदद्वार वा मुखमा लिंग पसाए र लिंगबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराए पनि बलात्कार मान्छ । महिलालाई मात्रै बलात्कारको सम्भावित पीडित मान्ने हैन तेस्रो लिंगी, वयस्क पुरुष र बालक पनि बलात्कारको अपराधबाट पीडित हुन सक्छन् यसलाई पनि कानुनले समेट्न सकेको छैन ।
नेपालको कानुनले योनी, गुदद्वार र मुखमा लिंगको प्रवेशलाई बलात्कार मानेको छ । तर औंला वा शरीरका अन्य अंग र बाहिरी वस्तुलाई जबर्जस्ती गुदद्वारलगायतमा प्रवेश गराउने कार्यलाई विश्वका अन्य देशमा बलात्कार मानिन्छ तर नेपालमा मानिएको छैन । सर्वोच्च अदालतले महिलाले महिलालाई बलात्कार गर्न सक्ने तथा कृत्रिम लिंगको प्रयोगबाट पनि बलात्कारको अपराध हुन सक्ने नजिर कायम गरेको छ तर कानुन नै चाहिँ बनेको छैन ।
अपराधसंहिताले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौनसम्बन्ध राखे पनि बलात्कार मान्छ । करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा बन्धक बनाई लिएको वा होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई सहमति मान्दै न । सर्वोच्च अदालतले २०६५ मा आदेश जारी गर्नुअघिसम्म वैवाहिक बलात्कारलाई अपराध मानेको थिएन । आफ्नी श्रीमतीबाहेक अन्य महिलालाई जबर्जस्ती करणी गरेमात्रै अपराध मान्ने मुलुकी ऐनको व्यवस्थाले वैवाहिक सम्बन्धका आधारमा बलात्कारजस्तो जघन्य अपराधमा उन्मुक्ति दिन्थ्यो ।
तर सर्वोच्च अदालतले मुलुकी ऐनको त्यस्तो प्रावधानलाई संशोधन गर्न संसद्लाई निर्देशन दिएपछि अहिले वैवाहिक बलात्कार कसुर मानिने कानुन बनेको छ । तर यस्तो अपराधमा सजाय भने अन्य व्यक्तिलाई बलात्कार गर्दा हुनेभन्दा न्यून छ । संशोधित मुलुकी ऐनमा ‘अदालतबाट दोषी ठहर भएपछि तीनदेखि पाँच वर्ष कैद हुने’ व्यवस्था थियो । अपराधसंहिताले यसलाई बदलेर ‘पाँच वर्षसम्म’ बनाएको छ । २०७२ सालसम्म बलात्कारको मुद्दा ३५ दिनभित्र अदालतमा चलाइसक्नुपर्ने व्यवस्था थियो । जसका कारण बलात्कारपीडितका धेरै मुद्दा अदालत पुग्नै सकेनन । तर २०७२ सालपछि मात्रै मुलुकी ऐन संशोधन गरेर हदम्याद ६ महिना पु¥याइदियो । २०७५ भदौ १ देखि लागू भएको अपराधसंहितामा हदम्याद एक वर्ष पु¥याइएको छ । तर अपराधसंहितामा हाड नाता करणीमा जहिलेसुकै उजुरी गर्न सकिने व्यवस्था छ ।
के छ कानुनमा ?
मुलुकी अपराधसंहिताको परिच्छेद् १८ मा करणीसम्बन्धी कसुर र त्यसको दण्ड व्यवस्थाबारे उल्लेख गरिएको छ । जसको दफा २१९ मा जबरजस्ती करणी गर्न नहुने उल्लेख छ । त्यसरी कानुनले नगर्न भनिएको कुरा गरेमा कुन–कुन अवस्थामा के कति दण्ड सजाय हुने भन्ने प्रस्ट गरिएको छ । दफा २१९ को उपदफा (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ ।
(क) करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन
(ख) होस् ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन
(ग) गुदद्वार वा मुखमा लिंग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिंग केहीमात्र पसेको भएमा, लिंगबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने छ ।
उपदफा (३) मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहायबमोजिम कैद हुने छः
(क) १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्णअशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद,
(ख) १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदेखि २० वर्षसम्म,
(ग) १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म,
(घ) १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म,
(ङ) १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने छ ।