काठमाडौं- सरकारले रोजगारी खोज्ने श्रमिक, रोजगारदाता तथा श्रम प्रशासनलाई एउटै डिजिटल प्रणालीमा जोड्ने उद्देश्यले ‘श्रम संसार प्रणालीसम्बन्धी कार्यविधि, २०८३’ तयार गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले तयार पारेको यस कार्यविधिले आन्तरिक रोजगारी व्यवस्थापनका साथै वैदेशिक रोजगारीको सूचना, श्रमिकको विवरण, सीप तथा रोजगारीको अवसरलाई व्यवस्थित गर्ने जनाइएको छ ।
‘श्रम संसार’ एकीकृत डिजिटल प्लेटफर्मका रुपमा सञ्चालन हुने कार्यविधिमा उल्लेख गरिएको छ । यस प्रणालीमार्फत श्रमिकको विवरण संकलन, रोजगारीका अवसरको सूचना, जब म्याचिङ, जब रिफरल तथा श्रमबजारसम्बन्धी तथ्यांक व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ । प्रणालीलाई सरकारी बेवसाइटमार्फत सञ्चालन गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
नेपालबाट प्रत्येक वर्ष सातदेखि आठ लाख युवा वैदेशिक रोजगारीमा जाँदै आएका छन् । यस्तो अवस्थामा नयाँ प्रणालीले स्वदेशी र विदेशी श्रमबजारलाई व्यवस्थित गर्ने मन्त्रालयको अपेक्षा छ । कार्यविधिमा श्रमबजारको सूचना, रोजगारीको माग र श्रमिकको सीप तथा योग्यतालाई डिजिटल माध्यमबाट एकीकृत गरी ‘जब म्याचिङ’ गरिने बताइएको छ ।
कार्यविधिका अनुसार श्रमिकको व्यक्तिगत तथा व्यावसायिक विवरण, सीप, योग्यता र अनुभवसम्बन्धी सूचना प्रणालीमा राखिने छ । त्यसपछि रोजगारदाता र रोजगार खोज्ने व्यक्तिलाई एउटै प्लेटफर्ममार्फत जोडेर रोजगारी मिलान गरिने भनिएको छ । कार्यविधिले ‘एकीकृत डिजिटल प्लेटफर्म’ मार्फत श्रमबजारका सरोकारवालालाई जोड्ने र जब म्याच गर्ने लक्ष्य राखेको छ ।
नेपालमा श्रमबजारको व्यवस्थित सूचना नहुँदा युवाहरुले रोजगारी नपाउने र रोजगारदाताले श्रमिक नपाउने समस्या देखिँदै आएको छ । युवाहरु नेपालमा रोजगारी नहुँदा विदेश जान बाध्य भएको बताउने गरिन्छ । श्रमिकको सीप र रोजगारदाताको मागलाई मिलाउन सके वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता केही हदसम्म कम हुने सरोकारवालाहरुको भनाइ छ ।
कार्यविधिले प्रणालीमा एउटै व्यक्तिको विवरण दोहोरिन नदिन ‘डुप्लिकेट डिटेक्सन’ र ‘रिजेक्सन’को व्यवस्था पनि गरेको छ । साथै, प्रयोगकर्ताको पहिचानका लागि आइडी र पासवर्ड तथा ओटिपीजस्ता व्यवस्था गरिने भनिएको छ ।
मुलुकमा हाल वैदेशिक तथा आन्तरिक रोजगारीसम्बन्धी विभिन्न निकायसँग छुट्टाछुट्टै तथ्यांक हुँदा नीति निर्माणलगायतमा समस्या हुँदै आएको श्रम मन्त्रालयले बताउँदै आएको थियो । अब भने यो प्रणालीमार्फत श्रमिकको तथ्यांक व्यवस्थित हुने मन्त्रालयको भनाइ छ ।
नेपालबाट वैदेशिक रोजगार क्षेत्रमा श्रमिकको सीपभन्दा गन्तव्य मुलुकको मागका आधारमा श्रमिक जाँदै आएका छन् । यस्तो अवस्थामा श्रमबजारको विश्लेषण गरेर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आवश्यक सीप, तालिमलाई पनि तथ्यांकमा आधारित बनाउन सहयोग पुग्ने भनिएको छ ।
‘श्रम संसार’मा श्रमिकको व्यक्तिगत विवरण, सीप, अनुभव तथा रोजगारीसम्बन्धी सूचना डिजिटल प्रणालीमा राखिने भएकाले डेटा सुरक्षालाई पनि कार्यविधिले प्राथमिकता दिएको छ । कार्यविधिमा डिजिटल ड्यासबोर्डमार्फत श्रमबजारसम्बन्धी विभिन्न तथ्यांक व्यवस्थापन गर्ने भनिएको छ । प्रणालीबाट ‘नियर टाइम डेटा पब्लिस’ गरेर आवश्यक सूचना लिन सकिने अवधारणासमेत राखिएको छ । डिजिटल पहुँच र साक्षरता काम भएका तथा ग्रामीण क्षेत्रका नागरिकलाई प्रणालीमा कसरी जोड्ने भन्नेमा विषय भने कार्यविधिमा छैन ।