नुवाकोट– पाँचौं म्हेन्दोमाया नृत्य प्रतियोगितामा साल्मोगाङ पेठिम ‘समूह–सी’ले प्रथम पुरस्कार हात पारेको छ। नुवाकोटको दुर्गम गाउँ रुपचेतमा गत बिहीबार (भदौ ११ गते) सम्पन्न उक्त प्रतियोगितामा अन्य चारवटा समूहलाई पछि पार्दै पेठिम समूह–सी विजेता बनेको हो।
प्रतियोगितामा साल्मोगाङ पेठिम ‘समूह–ए’ दोस्रो र किस्पाङ भाल्चे समूह तेस्रो बने। पहिलो, दोस्रो र तेस्रो बनेका तीनवटा समूहले क्रमशः ३० हजार, २० हजार, १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
म्हेन्दोमाया कलाकार संघले आयोजना गरेको प्रतियोगितामा पाँच समूहले भाग लिएका थिए। कलाकारहरु सागर एस वाइबा, रोशन फ्युबा, राजकिङ वाइबा र लेक योञ्जनले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
तस्बिर सौजन्य: मोहनकुमार तामाङ
विजेताहरुलाई रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङले पुरस्कार वितरण गरे। सोही अवसरमा उनले सिङ्ल्हा जाने पदमार्गसमेत शुभारम्भ गरेका थिए। उनले यस क्षेत्रलाई विकास गर्नका लागि अब विकासमुखी नेतालाई छनोट गर्नुपर्ने धारणा राखेका थिए।
आयोजक संस्थाका अध्यक्ष आरम्भ तामाङले तामाङ समुदायको परम्परागत म्हेन्दोमाया नाच संरक्षण एवं प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। कार्यक्रममा किस्पाङ गाउँपालिका–१ का पूर्ववडाध्यक्ष आइते तामाङ, बौद्ध धर्मका अध्यता मोहनकुमार तामाङ, पत्रकार बुद्ध योञ्जन लामा, गायिका निर्मला घिसिङलगायतले बधाइ तथा शुभकामना मन्तव्य राखेका थिए।