- पाँचबुँदे घोषणापत्र जारी गर्दै सकियो देउवापक्षको राष्ट्रिय सम्मेलन
- पार्टीलाई हिन्दूराष्ट्रको दिशामा लैजानेगरी निर्णय
- ‘हिन्दू राष्ट्र’ शब्दले महत-निधिबीच मञ्चमै लफडा
- देउवाले दोहोर्याए- ‘म हिन्दू हुँ’
- राजसंस्थाप्रति देउवा ‘सकारात्मक’
- संस्थापन पक्षले प्रतिवाद गर्ने
काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापक्षको राष्ट्रिय सम्मेलनले पार्टीलाई हिन्दूराष्ट्रको दिशामा लैजानेगरी निर्णय गरेको छ । सम्मेलनको निर्णयमा ‘हिन्दूराष्ट्र’ शब्द भने स्पष्ट रूपमा उल्लेख गरिएको छैन । तर, ‘सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने’ प्रतिबद्धता जनाइएको छ ।
नेता शंकर भण्डारीले प्रभावसँग भने, ‘शब्द भिन्न भए पनि यसको सीधा अर्थ हिन्दूराष्ट्र भनिएको हो ।’ सम्मेलनले जारी गरेको पाँचबुँदे घोषणापत्रमा उक्त शब्द प्रस्ट रूपमा राख्न देउवानिकट नेता डा. प्रकाशशरण महतले खोजेका थिए । नेता विमलेन्द्र निधिले गम्भीर आपत्ति जनाए । त्यस क्रममा महत र निधिबीच मञ्चमै लफडा भयो । उनीहरुबीच कागजात खोसाखोस नै भएको थियो । यो दृश्य सामाजिक सञ्जालहरूमा आइतबार दिउँसोदेखि नै ‘भाइरल’ बनेको छ । निधिको आपत्तिपछि सनातन धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अघि बढाउने भन्दै घुमाउरो भाषामा हिन्दूराष्ट्रको पक्षमा उभिने निर्णय गरेको हो ।
सम्मेलनमा देउवाले पनि आफू हिन्दू भएको पटक-पटक दोहोर्याए । अर्थात् हिन्दू धर्मप्रतिको प्रतिबद्धतामा आफू अडिग रहेको उनको सन्देश थियो । त्यसअघि उनले संवैधानिक राजसंस्थाबारे पनि सकारात्मक अभिव्यक्ति दिएका थिए । गत २९ साउनमा उनले भने, ‘मैले संवैधानिक राजसंस्था मानेकै थिएँ ।’
यी दुई अभिव्यक्तिले कांग्रेसको देउवा समूह राजनीतिकरूपमा पश्चगमनतिर फर्किन थालेको टिप्पणी हुन थालेको छ । गणतन्त्र र धर्मनिरपेक्षतालाई स्वीकार गरेको कांग्रेसभित्रै अहिले राजसंस्था र हिन्दूराष्ट्रको बहस बलियो बनेको छ । यसले पार्टीको आगामी राजनीतिक दिशामाथि गम्भीर प्रश्न उठाएको छ ।
जबकि, राजसंस्था नेपालको राजनीतिक इतिहासको विषय बनिसकेको छ । २०६२÷६३ को दोस्रो जनआन्दोलनपछि नेपाल गणतन्त्रमा प्रवेश गरेको थियो । तर, देउवा आफूले विगतमा संवैधानिक राजसंस्था स्वीकार गरेको बताएका छन् । उनको यो भनाइले देउवा विगतको राजसंस्थाप्रति सकारात्मक रहेको दर्शाउँछ, जसकारण देउवाको यस्तो अभिव्यक्ति अर्थपूर्ण छ ।
किनकि तत्कालीन राजा ज्ञानेन्द्र शाहकै प्रत्यक्ष शासनकालमा देउवा पक्राउ परेका थिए । उनलाई जेलसमेत पठाइएको थियो । त्यतिबेला देउवा नेपाली कांग्रेस प्रजातान्त्रिकमा थिए । गोपालमान श्रेष्ठले पार्टीको नेतृत्व सम्हालेका थिए । ज्ञानेन्द्रले करिब १८ महिना प्रत्यक्ष शासन गरे । माओवादी सशस्त्र युद्धमा थियो । सात राजनीतिक दल भने लोकतान्त्रिक आन्दोलनमा थिए । ज्ञानेन्द्रले दमन बढाएपछि सात दल र माओवादी नजिकिए । अन्ततः १९ दिने जनआन्दोलन भयो । त्यही आन्दोलनले राजतन्त्रको अन्त्य गर्यो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो । देउवा गणतन्त्रपछि दुईपटक प्रधानमन्त्री भए । जो गणतन्त्र स्थापना गर्ने प्रमुखमध्येका एक नेता हुन् । कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो राजनीतिक दस्तावेजमा स्वीकार गरेको छ । धर्मनिरपेक्षतालाई पनि कांग्रेसले स्वीकार गरेको छ ।
त्यसैले अहिले देउवाबाट राजसंस्थाप्रति सकारात्मक अभिव्यक्ति आउनु सामान्य विषय होइन । झन् जेन-जी विद्रोहपछि उनको राजनीतिक परिस्थिति बदलिएको देखिन्छ । विद्रोहका क्रममा देउवामाथि गम्भीर आक्रमण भएको थियो । त्यसपछि उनी उपचारका लागि सिंगापुर गए । सिंगापुरबाट हङकङ हुँदै स्वदेश फर्किए । त्यसपछि उनको सार्वजनिक अभिव्यक्तिमा राजसंस्था र हिन्दू धर्मको विषय बढी मुखर बनेको छ । यसले देउवा समूह पुरानो राजनीतिक व्यवस्थाका केही एजेण्डातर्फ फर्किन खोजेको देखिएको छ ।
कांग्रेस नेता भण्डारीका अनुसार कांग्रेसले ढिलो भए पनि सही निर्णय गरेको छ । यसले सम्मेलनको निर्णयलाई सामान्य सांस्कृतिक प्रस्तावभन्दा राजनीतिक एजेण्डाका रूपमा व्याख्या गर्ने आधार दिएको उनले बताए ।
हिन्दूराष्ट्रको अभियान पुरानै
कांग्रेसभित्र हिन्दूराष्ट्रको माग अहिलेमात्र उठेको होइन । २०८० सालको महासमिति बैठकमा नेता भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्रका पक्षमा हस्ताक्षर अभियान चलेको थियो । त्यतिबेला एक हजार ६१ महासमिति सदस्यले हस्ताक्षर गरेका थिए । अभियानका सहसंयोजक लोकेश ढकालले ४२ जना केन्द्रीय सदस्यलेसमेत हस्ताक्षर गरेको दाबी गरेका थिए ।
संकलित हस्ताक्षर तत्कालीन सभापति देउवालाई बुझाइएको थियो । महासमिति परिसरमै ब्यानर राखेर अभियान चलाइएको थियो । हिन्दूराष्ट्रलाई बैठकको एजेण्डा बनाउन माग गरिएको थियो । तर, तत्कालीन सभापति देउवाले त्यसलाई औपचारिक छलफलमा प्रवेश गराएनन् । महासमितिका ११ वटा निर्णय सार्वजनिक हुँदा हिन्दूराष्ट्रको विषय समावेश भएन ।
यसअघि २०७५ सालको महासमिति बैठकमा पनि हिन्दूराष्ट्रका पक्षमा हस्ताक्षर अभियान चलेको थियो । त्यतिबेला ७१४ महासमिति सदस्यले हस्ताक्षर गरेका थिए । २२ जना केन्द्रीय सदस्यले पनि समर्थन गरेको दाबी गरिएको थियो । तर, कांग्रेसले त्यसलाई पार्टीको औपचारिक नीति बनाएन ।
नेपालको संविधानको धारा ४ ले नेपाललाई धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य मानेको छ । धारा २६ ले धार्मिक स्वतन्त्रताको हक सुनिश्चित गरेको छ । कांग्रेसले यही संवैधानिक व्यवस्थालाई स्वीकार गरेको छ । अब त्यही पार्टीभित्र सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव आएको छ ।
संविधान संशोधनको क्रममा यो विषयलाई बहसमा लैजानुपर्ने तर्क पनि उठेको छ । जनमत संग्रह वा अन्य लोकतान्त्रिक विधिबाट निर्णय गर्न सकिने भनिएको छ ।
संस्थापनको गम्भीर आपत्ति
नेपाली कांग्रेसको संस्थापनपक्षले इतरपक्षको राष्ट्रिय सम्मेलनबाट पारित गरेको राजनीतिक प्रतिवेदनका विषयप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतिवाद गर्ने चेतावनी दिए ।
‘त्यहाँ (इतरपक्षको सम्मेलनमा) गरिएका काम र बोलिएका कुरालाई नजिकबाट हामी हेरिरहेका छौं, यसका पछाडि केही छ कि भनेर विश्लेषण हुने काम पनि भइहाल्छ,’ उनले भने, ‘त्यसमा पार्टीले के गर्ने भन्ने कुरामा कतिपय सावधानी अपनाउने कुरा हो, कतिपय हामी रणनीतिक तरिकाले इन्काउन्टर गरौंला, नबोलेरै ।’
उनले देउवापक्ष हिन्दूराष्ट्रको पक्षमा उभिने कदमबारे सभापति थापाले भने धारणा सार्वजनिक गर्ने पनि बताए । यसैबीच सभापति गगन थापाले आफ्नो राजनीतिक करिअरकै सर्वाधिक निन्दा पछिल्ला तीन दिनमा भएको भन्दै असन्तोष जनाए । उनले कांग्रेस र यसका मान्यतालाई वैचारिक बहसभन्दा बढ्ता व्यक्तिका पेवाजसरी चित्रित गर्न खोजिएकामा आफूलगायत नयाँ पुस्ताले यस्तो गर्न नदिने घोषणा गरे ।
देउवा समूहको सम्मेलनमा आफ्नो आलोचनापछि थापाले भने, ‘बिपी, गणेशमानलाई कसैको घरभित्र कैद गर्न हुँदैन । आफ्नो पदीय स्वार्थअनुकूल उहाँहरूका विचारलाई व्याख्या गर्नु अनुचित हो ।’