‘नारदजी !’ मट्याङ्ग्रोले आफ्नो पुर्पुरोमा हात राख्दै करायो । ‘हे भगवान् ! चुनावअघि हातमा घण्टी समातेर दौडेको मान्छे, चुनावपछि किन पुर्पुरो समातेर बसेको होला ?’ नारदजी मुस्कुराए । ‘किन त ?’ मट्याङ्ग्रोले लामो सास फेर्यो । ‘पहिला लाग्थ्यो सरकार फेरियो भने भाग्य फेरिन्छ । अहिले त भाग्य होइन, करका दरमात्रै फेरिएछन् ।’ छेउमै बसेको बैरीले चिया सुक्र्यायो । ‘सरकार फेरिनु भनेको हामीले बुझेजस्तो रहेन छ । हामीले त बाटो फराकिलो होला, अस्पताल सस्तो होला, विद्यालय सजिलो होला भन्ने सोचेका थियौं । अहिले त जहाँ पुग्यो, त्यहीँ बिल, शुल्क, कर र नयाँ नियम ।’ नारदजीले वीणा बजाए । ‘जनताको सपना त सधैँ महँगो हुन्छ, बाबु ।’
मट्याङ्ग्रो बिहान ४ बजे उठ्छ । दिनभरि गिटी कुट्छ । बेलुका पसिना सुक्न नपाउँदै हिसाब गर्छ । आज कमाएको पैसा...भाडा । चामल । तरकारी । बिजुली । विद्यालय । औषधि । यति लेख्दालेख्दै कापीको पाना सकिन्छ । तर पैसाको हिसाब सकिँदैन । बैरीले भन्यो, ‘अब त हिसाब गर्ने क्याल्कुलेटरभन्दा कर गन्ने क्याल्कुलेटर चाहिन्छ । दशकौंपछि गाउँमा बत्ती बलेको थियो । त्यही भएर पनि गाउँलेहरुले दीपावलीभन्दा ठूलो उत्सव मनाएका थिए । बूढाबूढीले भने, अब हाम्रा नातिनातिनाले टुकीको धुवाँमा होइन, बिजुलीमा पढ्छन् । तर केही समयपछि बिल आयो । त्यसमा कर । अर्को शुल्क । फेरि अर्को शीर्षक ।’
बैरी बिल हेरेर टोलायो । ‘यो बत्तीको बिल हो कि सरकारको आत्मकथा ?’ मट्याङ्ग्रोले भन्यो, ‘छोरो विद्यालय जान्छ । ऊ पढेर डाक्टर बन्न चाहन्छ । तर प्रत्येक महिनाको शुल्क देख्दा मेरो मुटु काँप्छ ।’ एक दिन उसले मास्टरलाई सोध्यो, ‘सर, मेरो छोरो पढ्दै छ कि बैंकको ऋण तिरिरहेको छ ?’ मास्टर मुस्कुराए । ‘हामी पनि के गरौं ।’ मट्याङ्ग्रोले टाउको हल्लायो । सबैको एउटै उत्तर रहेछ, ‘हामी के गरौं ?’ मट्याङ्ग्रो एकदिन अस्पताल पुगेको थियो । सरकारी अस्पतालको लाइन । अर्को लाइन । अझ अर्को लाइन । काउन्टरमा पुगेपछि, यो औषधि बाहिर पाइन्छ । यो परीक्षण निजीमा हुन्छ । यो मेसिन बिग्रिएको छ । मट्याङ्ग्रो बाहिर निस्कियो । त्यसबेला बैरीले सोध्यो, ‘उपचार भयो ?’
‘भयो ।’उसले सोध्यो ‘कसरी ?’जवाफ दियो, ‘रोगको होइन... आशाको मृत्यु भयो ।’जनता बोल्छ । सुकुमबासी बोल्छ, उखु किसान बोल्छ, मिटरब्याजी पैदलयात्रा गर्दै निस्कन्छ । अनि सामाजिक सञ्जाल बोल्छ । चिया पसल बोल्छ । बसको सिट बोल्छ । तर सिंहदरबारतिर भने मौनताको बाक्लो कुहिरो छ ।सायद वर्षायामले माइतीघरमा नदी आएर पनि पनि होला । बैरीले भुइँबाट ढुंगा उठायो । ‘यो ढुंगाले पनि फाल्यो भने आवाज निकाल्छ । तर सरकारलाई जनताको आवाज सुनाउन अझ ठूलो स्पिकर चाहिन्छ जस्तो छ ।’

चुनावअघि नेताहरू गाउँ पस्दा... मट्याङ्ग्रोको घर भेट्थे । दूध खान्थे । दही खान्थे । सेल्फी खिच्थे अनि भन्थे, ‘तपाईंहरू हाम्रो परिवार ।’जब चुनाव सकियो, फोन लागेन । कार्यालयमा भेट्न जाँदा, समय नै पाएन । मट्याङ्ग्रो हाँस्यो ।नारदजीले प्रश्न गरे, ‘सबैभन्दा ठूलो कर कुन हो ?’बैरीले भन्यो, ‘भ्याट ।’मट्याङ्ग्रोले टाउको हल्लायो, ‘होइन । सबैभन्दा ठूलो कर भनेको आशामाथिको कर हो । हरेक चुनावमा हामीले आशा लगानी गर्छौं । प्रतिफलमा निराशा पाउँछौं । त्यसैले त अहिले बजारमा बिचौलियाको मुस्कान चौडा छ ।’ ‘किसानको निधार साँघुरो । उत्पादन गर्ने रोइरहेको छ । बेच्ने हाँसिरहेको छ । बीचको मान्छे मोटाउँदै गएको छ,’ मट्याङ्ग्रोले भन्यो, ‘नेपालमा सबैभन्दा सफल खेती भनेकै बिचौलियाको रहेछ । मल चाहिँदैन । पानी चाहिँदैन । तर फल भने वर्षैभरि लाग्छ । रोजगारीको कुरा आयो । सरकारी भाषणमा लाखौं अवसर । त्यो अवसर स्वदेशमा होइन । सहरको म्यानपावरको कार्यालयअघि लाइनमा । अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।’
बैरीले हाँस्दै भन्यो, ‘यहाँ रोजगारीभन्दा वैदेशिक रोजगारको टिकट सजिलै पाइन्छ ।’साँझ पर्न लाग्यो । आकाश राताम्मे भयो । मट्याङ्ग्रो नारदजीलाई सोध्यो, ‘अब के गर्ने ?’ नारदजीले उत्तर दिए, ‘सरकार बदल्नुमात्रै लोकतन्त्र होइन । प्रश्न सोधिरहनु पनि लोकतन्त्र हो । उत्तर मागिरहनु पनि लोकतन्त्र हो । जसले जिते पनि जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने सम्झाइरहनु नै नागरिकको सबैभन्दा ठूलो शक्ति हो ।’ ‘नारदजी, एउटा कुरा सोधुँ ?’ मट्याङ्ग्रोलेसडक किनारको ढुंगातिर हेर्दै भन्यो । ‘सोध ।’ ‘यो ढुंगा बोल्छ कि बोल्दैन ?’ नारदजी मुस्कुराए, ‘ढुंगा आफैं त बोल्दैन । तर कसैले त्यसलाई ठोक्कायो भने आवाज निकाल्छ ।’ मट्याङ्ग्रोले लामो सास फेर्यो, ‘त्यही भएर त सोधेको । यो देशमा त ढुंगाले पनि ठोक्किँदा आवाज निकाल्छ, तर जनताको पीरले सरकार ठोक्किँदा पनि कुनै आवाज आउँदैन ।’
बैरी हाँस्यो । ‘ढुंगा त निर्जीव हो । तर कहिलेकाहीँ निर्जीव वस्तुले पनि आफ्नो अस्तित्व देखाउँछ । समस्या त त्यहाँ छ, जहाँ बोल्नुपर्नेहरू मौन बस्छन् ।’
एक दिन मट्याङ्ग्रोले निर्णय गर्यो– आज म बोल्ने ढुंगा खोज्छु । ऊ सहर घुम्यो । ७८ जिल्ला भनिने बानेश्वर पुग्यो, थापाथली पुग्यो, सिंहदरबारको गेटैगेट सर्वोच्च अदालतको गेट अनि हटाइएका सुकुमबासी बसेको ठाउँमा पुग्यो । सडकको खाल्डोमा पुग्यो । ढुंगाले भन्यो, ‘मलाई हटाइदिए सडक राम्रो हुन्थ्यो । तर वर्षौंदेखि म यतै छु । दोष मेरो होइन, मलाई हटाउनुपर्नेहरूको हो ।’ मट्याङ्ग्रो छक्क पर्यो । थोरै अगाडि बढ्यो । फुटपाथमा अर्को ढुंगा भेटियो । फुस्रो सिमेण्ट बनाएको । त्यसले भन्यो, ‘मलाई मानिसले लात हानेर गाली गर्छन् । तर मलाई यहाँ कसले छोड्यो भनेर कसैले सोध्दैन ।’ मट्याङ्ग्रोले मनमनै भन्यो, ‘साँच्चै रहेछ, ढुंगा बोल्न थाले छन् ।’
बैरीले जिस्क्याउँदै भन्यो, ‘अब त ढुंगाको पत्रकार सम्मेलन गरौं ।’ मट्याङ्ग्रोले हाँस्दै उत्तर दियो, ‘ढुंगाले बोलेको समाचार त भाइरल होला । किनकि मानिसले बोल्दा कसैले सुन्दैन । युट्युबमा टन्नै पैसा पनि कमाउँला । दुई–चार जनाले राम्रै कमाई पनि गर्छन् ।’ साउन लागिसकेको छ । उता गाउँमा किसान मल नपाएर कराइरहेका थिए । सहरमा युवाहरू रोजगारी खोज्दै लाइनमा थिए । बजारमा महँगीको चर्चा थियो । विद्यालयमा अभिभावक शुल्कको चिन्तामा थिए । अस्पतालमा बिरामी उपचारभन्दा पालोको चिन्तामा थिए । तर निर्णय गर्ने कोठाहरू भने अचम्मको शान्त थिए । यस्तो लाग्थ्यो, त्यहाँ मौनताको बाक्लो पर्दा झुण्ड्याइएको छ । नारदजीले भने, ‘मौन दुई प्रकारको हुन्छ ।’
बैरीले सोध्यो, ‘कस्तो ? एउटा सुन्नका लागि गरिने मौनता । अर्को नसुन्नका लागि गरिने मौनता । सिंहदरबार अहिले त्यही मौनतामा छ ।’ सिंहदरबारको सिंहासनमा बस्नेलाई अहिले त्यही मौनतामा बाँधिएकाको छ । सायद आधुनिक हिटलर पो बनाइँदै छ कि वा किम जोङका नयाँ अवतारका लागि तयार गरिँदै छ ।’ के गर्नु सरकार चलाउनेहरु कोही पनि बोल्दैनन् । सरकारमा जानुभन्दा अगाडिसम्म सबलाई गाली गर्थे । नातावाद भयो, परिवारवाद भयो । महंगी बढ्यो । गरिबका लागि सरकार भएन । तर त्यही भनेर सरकारमा पुगेका व्यक्तिहरुले गरिबकै लागि शोषित गर्ने काम गरे । सरकार गरिबको हुन सकेन । बिचौलियाहरुकै मुठ्ठीमा पुग्यो । न त रोजगारीको ग्यारेण्टी, न त पारदर्शिता !
ढुंगा बरू बोल्छ होला तर सरकारको नेतृत्व गरिरहेका जनताको विश्वासपात्रहरु बोल्दैनन् । त्यसो भए जनताले कहाँ गएर पीर पोख्ने ? लौ न भन्दिनुपर्यो ।
सरकारले बोल्नै नदिने हो भने सबैको मनका राजा, बालेन राजालाई किम जोङ बनाउन खोजेको हो कि ? सुन वाग्लेले हामी कम्युनिस्टको सरकार होइन भन्दै बिवाइडीमा सरर भन्दै सत्ता र अर्थतन्त्र फिलिपिन्सकी गृहिणीको सल्लाह चलाउँदै छन् । अनि बालेन राजालाई बन्द कोठामा किम जोङ बनाउन खोज्या त होइन नि ? विचरा ! देश बनाउँछु भनेर सिंहको आसनमा पुगेकालाई हिटलर वा किम जोङ नबनाऊ ।