डाँडाबाट केही मानिसहरु कराइरहेका छन्। भाग भाग आइसक्यो! डाँडातिर उक्ली, छिटो छिटो। हरेकका हातमा भएको मोबाइलका कारण पनि अकल्पनीय रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई सबैले देख्न पाए। ओहो! कति भयानक। कति रौद्ररुपमा आएको त्यो भीषण बाढी। मोबाइलमा सामाजिक सञ्जाल खोल्नेबित्तिकै देखिनै यस्तै भयावह दृश्यले मट्याङ्ग्रोको दिमागले आजभोलि राम्ररी काम गर्नै छाडेको छ।
उसबेला बूढापाकाले भन्दै आएका थिए, ‘भाग्यमा लेखेको कसैले मेट्न सक्दैन।’ तर यस्तो विपद् देख्दा मट्याङ्ग्रो सोच्न बाध्य भएको छ। भाग्यले के गर्छ? भाग्यले मानिसलाई बचाउँछ कि मानिसले आफैंले बनाएको बाटोले उसलाई विपत्तितिर धकेल्छ? पहिले पहिले अंग्रेजी फिल्महरुमा देखाइने फिल्मको दृश्यजस्तो लाग्छ। तर यो पर्दामा कम्प्युटरबाट बनाइएको दृश्य होइन, वास्तविक पहाड, वास्तविक खोला, वास्तविक बस्ती र वास्तविक मानिसको जीवनमाथि आएको त्रासदी। पहाडै खसेजस्तो, खोलाले आफ्नो पुरानो रिस पोखेजस्तो, पानीले बाटो खोज्दै होइन, सबै कुरा बगाउँदै हिँडेजस्तो।
बाढीले कसैलाई सोधेन तिमी गरिब हौ कि धनी? कसैलाई भनिएन तिमी गाउँका हौ, तिमीलाई छुट। अनि तिमी सदरमुकामका हौ वा सहरबाट आएका हौ, तिमीलाई सुरक्षित राख्छु। बालकलाई छोड्छु, वृद्धलाई छुँदिनँ। प्रकृतिको यस्तो क्रोधमा न उमेरको परिचय चल्यो, न सम्पत्तिको प्रमाणपत्र। पैसा बैंकमा थियो, तर जीवन खोलाको किनारमा थियो। घरको लालपुर्जा बाकसमा थियो, तर बाकस नै कहाँ बग्यो, कसैलाई थाहा भएन।
मट्याङ्ग्रोेले टाउको समातेर भन्यो, ‘हामीले जिन्दगीभर जात, धर्म, पार्टी, गाउँ र सहर छुट्यायौं। तर प्रकृतिले एकैपटक सबैलाई बराबर बनाइदियो हत्तेरी। त्रिशूली होस् वा बेत्रावती, मानसरोवरतर्फ यात्रा गर्नेहरू हुन् वा गोसाइँकुण्डको दर्शन र भ्रमणमा जानेहरू कसैलाई पनि थाहा थिएन कि यात्राको एउटा मोड जीवनको अन्तिम मोड बन्न सक्छ। देशभित्रका नागरिकमात्र होइन, नेपाल घुम्न आएका विदेशी पर्यटकसमेत प्रकृतिको यही भयावह अनि रौद्ररुपमा परे।
पर्यटक नेपाल आउँदा हामी गर्वले भन्छौं, नेपाल प्राकृतिक सुन्दरताको देश हो। हिमाल देखाउँछौं। नदी देखाउँछौं। पहाड देखाउँछौं। झरना देखाउँछौं। तर कहिलेकाहीँ यही प्रकृतिले आफ्नो अर्को रूप देखाउँछ, जुन रूप हेर्न न पर्यटक तयार हुन्छ, न स्थानीय। ‘कठैबरा’ खोलाको किनारमा लास। माटोमुनि लास। बाढीले बगाइरहेको छ लास। उजाड बनाउँदै लगाएको लुगा पनि खोलिदिएर कुना काप्चा लास। कसको होला? कहाँबाट ल्यायो होला? तर पनि परिवारका सदस्यहरू सोचिरहेका होलान् ऊ कतै जीवित होला कि?
यो कस्तो पीडा हो? मानिसलाई मृत्युको खबरभन्दा पनि अनिश्चितताले धेरै मार्छ। ढोका हेर्दै बस्ने आमा, मोबाइल बज्छ कि भनेर कुर्ने श्रीमती, बाटो हेर्ने छोरा वा छोरी उनीहरूलाई कसैले राहतको भाषणले सान्त्वना दिन सक्दैन। मट्याङ्ग्रोे फेरि सोच्न थाल्यो, हामीले विकास त गर्यौं भन्यौं, तर प्रकृतिसँग सम्झौता गर्यौं कि झगडा? शक्तिशाली राष्ट्रहरुले शक्ति देखाउन गरेका गतिविधिहरुले हिमाल पगाल्यो। त्यसको पीडा नेपालीले भोग्नु परिरहेको छ। जलवायु परिवर्तन कसले गरायो? कुन शक्तिले हिमाल हिउँ पगाल्ने गतिविधि गर्यो। ऊ शक्तिशाली बन्यो तर उसले गरेको अपराधको सजाय नेपालीले पायो!
ऊ बेला बूढापाकाले भन्ने गर्थे, नदी खोला छेउ बास नबसाउनु। तर हामीले सहर बनाउने नाममा त्यही खोला नदी छेउ घर बनायौं, चाहे त्यो इन्द्रावती होस् वा भोटेकोशी। बागमती होस् कि विष्णुमती। गण्डकी होस् कि भेरी! त्यत्तिलेमात्र कहाँ पुग्यो र? पहाडमा जथाभावी डोजर चलायौं। ढुंगा, गिटी र बालुवा निकाल्यौं। थुम्को काटेर सडक बनायौं। नदीलाई च्याप्दै च्याप्दै साँघुरो बनायौं। जंगल काट्यौं। त्यसपछि बाढी आयो भने भन्यौं, प्रकृति क्रुद्ध भयो।
प्रकृति साँच्चै क्रुद्ध भएको हो कि हामीले प्रकृतिलाई थिचोमिचो गर्दै आएका हौं? यो प्रश्न मट्याङ्ग्रोेलाई कसैले सोधेको होइन। तर बागमती, विष्णुमती अनि रुद्रमती खोलाले सोधिरहेको जस्तो लाग्छ। पहाडले सोधिरहेको जस्तो लाग्छ। माटोले सोधिरहेको जस्तो लाग्छ। तिमीहरूले मलाई कति सहन लगाउने?
हामीले पहाडलाई काट्यौं, उसले पहिरो पठायो। हामीले नदीलाई थुन्यौं, उसले बाँध फुटाएजस्तो बाटो खोज्यो। हामीले जंगल मास्यौं, पानीलाई समात्ने हात काट्यौं। अनि पानीले आफ्नो बाटो आफैं बनायो। शक्तिशाली राष्ट्रले हिमालको हिउँ पग्लिनेगरी कुन्नि के-के गरे। धोविखोलाको किनारामा छाता ओडेर भदौरे झरीको भेल भनौ कि बाढी हेर्दै मट्याङ्ग्रोे उही रसुवा भोटेकोशी सम्झँदै छ। कस्तो अलच्छिना भदौ परेछ? परार साल पनि बाढीले वितण्डा मच्चायो, पोहोर साल देश खरानी बनायो। यो वर्ष त कुरै नगरौ, सिनेमा जस्तैगरी अग्ला अग्ला पहाड नै खसाएर हजारौंलाई बगायो!
प्रकृतिले बदला लिँदैन होला, तर प्रकृतिको नियम तोड्नेले परिणाम भने अवश्य भोग्छ साहिला बाउ। जब विपद् आउँछ, आकाशमा हेलिकप्टर आउँछ। हेलिकप्टरमा नेता सकेसम्म धेरै क्यामरा बोक्ने मानिस लिएर आउँछन्। अनि आँखाभरि नक्कली आँसु देखाएर राहतको भाषण गर्छन्, जनताको मन जित्छन्। विपद्मा परेकासम्म केही पुग्दैन। चाहे त्यो जुरेको पहिरो जाँदा होस् कि मेलम्ची बगाउँदा होस्। अहिले रसुवा भोटेकोशी पनि उस्तै पीडामा छ नि होइन र?
तर मट्याङ्ग्रोेको मन मनै एउटा पुरानो प्रश्न छ। बाढी आउनुअघि किन कोही आउँदैन? पहिरो खस्नुअघि जोखिमयुक्त बस्ती किन सारिँदैन? नदी अतिक्रमण हुँदा किन रोकिँदैन? कमजोर सडक निर्माण हुँदा किन निगरानी हुँदैन? जथाभावी उत्खनन हुँदा किन आँखामा पट्टी बाँधिन्छ? जलवायु परिवर्तन गराउने शक्तिशालीहरुसँग अधिकार माग्नुको सट्टा लम्पसार परिन्छ।
विपद् भएपछि सबैलाई पीडा हुन्छ। तर विपद् हुन नदिनेतर्फ कसको जिम्मेवारी हुन्छ? तर नेपालमा एउटा अचम्मको परम्परा छ। विपद् अघि कोही हुन्नन्। विपद् आईपरेपछि सबै जना विशेषज्ञ बन्छन्। बाढी आएपछि जलवायु विज्ञ। पहिरो आएपछि भूगर्भविद्। राजनीतिक संकट आएपछि विश्लेषक। तर घटना हुनुअघि चेतावनी दिने मानिसलाई कसैले सुन्दैन।
हामी विपद्पछि धेरै बुद्धिमान हुन्छौं, तर विपद्अघि किन यति धेरै मूर्ख हुन्छौं? चाहे त्यो भूकम्प होस् कि बाढी पहिरो जुनसुकै बेला पनि! रसुवाको यो पीडाले एउटा जिल्लामात्र रोएको छैन। सिंगो देश स्तब्ध भएको छ। विश्व स्तब्ध भएको छ। एउटा घरको सदस्य हराउँदा त्यो घर शोकमा डुब्छ। तर सयौं परिवारको भविष्य एकै पटक अन्धकारमा पर्दा राष्ट्रले पनि आफ्नो आत्मासँग प्रश्न गर्नुपर्छ।
हामीले विकासको नाममा के बनायौं? सडक कि जोखिम? बस्ती कि मृत्युको प्रतीक्षालय? आँगनमा पुग्ने मोटर बाटो कि विपद्को गल्ली?हिमाल, नदी र पहाड हाम्रो पहिचान हुन्। मानसरोवर जाने मार्ग होस् वा गोसाइँकुण्डको धार्मिक र पर्यटकीय यात्रा। यी मार्गहरूले नेपाललाई संसारसँग जोड्छन्। तर यस्ता प्राकृतिक विपद्ले फेरि सम्झाइदिएको छ, हामी प्रकृतिका मालिक होइनौं। हामी केवल प्रकृतिका अस्थायी पाहुना हौं।
मट्याङ्ग्रोेले अन्त्यमा हात जोडेर भन्यो, बागमतीको डिलमा पुगेर पशुपतिनाथसँग पुकार गर्दै छ, हे पशुपतिनाथ, हे मातृभूमि! हामीले यस्ता दुर्लभ र भयावह विपद् फेरि भोग्नु नपरोस्। कतै हामीले नै नदीको बाटो थुनेका त छैनौं? कतै हामीले नै पहाडको शरीर काटेका त छैनौं? कतै हाम्रो विकास नै विनाशको निम्तो त बनिरहेको छैन? किनकि भाग्यले धेरै कुरा गर्छ होला, तर मानिसले गरेको गल्तीलाई भाग्यको नाम दिएर सधैं उम्कन सकिँदैन। भविष्यमा यस्तो विनाशकारी विपद् कसैले भोग्न नपरोस्। प्रकृतिले सराप्न खोजेको देश नबनोस्। जय मातृभूमि!