नागरिक समाजको बारेमा कुनै ठोस परिभाषा भएको पाइ“दैन। यसका उद्देश्य र कार्यक्षेत्रका आधारमा यसको चिनारी गराइएको पाइन्छ। यसको कार्यक्षेत्र विविध किसिमको हुन्छ। साना-साना संघ वा समूहदेखि लिएर अन्तर्राष्ट्रियस्तरसम्म यसको विस्तार भएको छ। एउटा गाउ“को महिला जागरण समूह र ट्रान्सपरेन्सी इन्टरनेसनल दुवैलाई नागरिक समाजको दायराभित्र राख्नुपर्ने भएकाले पनि यसको उपयुक्त परिभाषा हुन नसकेको हो।
कार्यक्षेत्र र उद्देश्यको आधारलाई ध्यानमा राखेर ‘समाजको मानवीय संवेदनास“ग आबद्ध रहेर सामाजिक परिचालनमा रहने सरकार र बजार संयन्त्रभन्दा बाहिर रहेको समूह वा आन्दोलन’लाई नागरिक समाजको संज्ञा दिइएको पाइन्छ। नागरिक समाजभित्र पेसागत संघ संस्थाहरु, विभिन्न जातिगत संस्थाहरु, शिक्षक/प्राध्यापक संघहरु, श्रमिक संघ संस्थाहरु, मानवअधिकारवादी संस्थाहरु पर्दछन्। नागरिक समाज समकालीन विश्वको चर्चित विषयहरुमध्येको एक हो।
यस शब्दावलीको प्रयोग रोमन दार्शनिक सिसेरोदेखि लिएर प्राचीन ग्रीकहरुलेसमेत गरेका थिए। तर उनीहरुले नागरिक समाजलाई राज्यभन्दा फरक अर्थमा लिएका थिएनन्। पछि आएर प्रसिद्ध दार्शनिक फ्रेडरिक हेगेलले नागरिक समाज भनेको परिवारभन्दा व्यापक र राज्यभन्दा अलग अस्तित्वमा भएको समूह हो भन्ने अर्थमा परिभाषित गरे जुन आजको नागरिक समाजको अवधारणास“ग मिल्दोजुल्दो भएको मानिन्छ। यसरी नागरिक समाजको अवधारणा धेरै पुरानो भएता पनि विगत दुई दशकदेखि यसको व्याख्या, प्रयोग र भूमिकाकोबारेमा धेरै बहसहरु हु“दै आएका छन्।
नागरिक समाज भनेको गैरराज्य तथा गैरसरकारीरुपमा तल्लो तहबाट संगठित स्वयंसेवी मानिसहरुको समूह, संगठन वा गतिविधि हो। नागरिक समाजको विकासलाई २०औं शताब्दीको महत्वपूर्ण उपलब्धिहरुमध्ये एक मानिएको छ। व्यापक दृष्टिकोण, बहुमुखी उद्देश्य नीति तथा कार्यक्रमका साथै बृहत्तर सम्बन्ध भएका नागरिकहरु नै यसका संगठनकर्ताका रुपमा रहेका हुन्छन्। नागरिक समाजलाई जनशक्तिको स्रोत र बहुसंख्यक जनताहरुको जमघटको थलो मानिन्छ। यो बहुसंख्यक मानिसहरुको जीवनस्तरलाई उकास्नका लागि आवश्यक पर्ने दक्षता र क्षमताको संयोजन गर्ने ठाउँ पनि हो।

यसैगरी, नागरिक समाजको विभिन्न सामाजिक समुदायहरुकाबीच विचार विमर्श गर्ने, संगठित हुने र आ-आफ्नो विकास गर्ने सभा मञ्चसमेत प्रदान गर्दछ। नागरिकहरुका समान चाहना, मूल्य र प्रतिबद्धतालाई अभिव्यक्त गर्ने संगठित समूहको काम पनि नागरिक समाजले गर्दछ। नागरिक समाज विकासको वैकल्पिक मार्ग पनि हो। यसले जनमुखी विकासको माग राख्दछ। नागरिक समाज राज्यको विरुद्धमा होइन, यससँग मिलेर नीतिगत विषयमा ठोस निर्णय लिन सक्रिय रहन्छ। वस्तुतः नागरिक समाज आजको उपज होइन। प्राचीनकालदेखि नै यसका बारेमा चिन्तन गर्न थालिएको पाइन्छ।
सबै राजनीतिक विचारधारा भएका दार्शनिकहरुले यसको वकालत गरेका छन्। कार्लमाक्र्स, इमानुएल कान्ट र अगस्ताइनलाई उदाहरणको रुपमा लिन सकिन्छ। आधुनिक समयमा अभिताह एञ्जिओनी ल्यारी डायमण्ड र माइकल बल्जरजस्ता विद्वान्हरुले यसको वकालत गरिरहेका छन्। एञ्जिओनीले त नागरिक समाजलाई ‘समुदायको आत्मा’ सम्म मानेका छन्। साधारण अर्थमा नागरिक समाज भनेको सभ्य समाज हो। अर्थात् नागरिक समाज भनेको राज्यको चेतनशील मानव समुदाय हो, जसले आफ्नो समुदाय र देश विकासमा सहयोगीको भूमिका खेल्दछ।
प्राचीन ग्रीस राज्यमा नगरमा बस्ने मानिसलाई नागरिक भनिन्थ्यो, जसको अर्थ चेतनशील र सभ्य भनेर लगाइन्थ्यो। वास्तवमा समाजमा बस्ने चेतनशील, सभ्य, लगनशील र उन्नतिकामी जनताको समूह नै नागरिक समाज हो, जसले आफ्नो समाज र समग्र देशकै समृद्धिका लागि निरन्तर प्रयत्न गरिरहन्छ। समाजमा रहेका विकृति विसंगति, लोकाचार, भ्रष्टाचार, सामाजिक भेदभाव, अन्याय र अत्याचारजस्ता सामाजिक रोगहरुको जरैदेखि निर्मूल पार्ने दायित्व काँधमा बोकेर संघर्षशील रहनु नागरिक समाजको विशेष ठहर्छ। तर यसका लागि नागरिक समाज सबल र सक्षमचाहिँ हुनैपर्छ नत्र वाञ्छित लक्ष्य पूरा हुन सक्दैन।
नागरिक समाज गैरराज्य तथा गैरसरकारी तथा तल्लो तहबाट संगठित स्वयंसेवी मानिसहरुको समूह संगठन वा गतिविधि हो। फराकिलो दृष्टिकोण, उद्देश्य, नीति र कार्यक्रम तथा व्यापक सम्बन्ध भएका नागरिकहरु नै यसका संगठक हुन्। नागरिक समाज जनशक्तिको स्रोत र बहुसंख्यक जनताहरुको जमघटको थलो हो, बहुसंख्यक जनताको जीवनस्तरलाई उकास्नका लागि चाहिने दासता र क्षमताको पुनः संयोजन गर्ने उपयुक्त ठाउँ हो। विचार विमर्श गर्ने, संगठित हुने र आफ्नोपनको विकास गर्ने मञ्च हो।
नागरिक समाजलाई विकास अभिप्रायको वैकल्पिक मार्गकारुपमा लिइन्छ। जनताहरुका समान चाहना, मूल्य प्रतिबद्धता आदिको व्यावहारिक प्रतिवादनलाई मूर्तरुप दिनका लागि समाजका विभिन्न समूहको मागलाई अभिव्यक्त गर्ने वैकल्पिक बाटोको रुपमा लिइएको छ। यो यस्तो दिशानिर्देश हो, जसमा समान उद्देश्यका लागि थुप्रै मानिसहरु आपसी सम्बन्धमा बाँधिएका हुन्छन्। सामाजिक घटनालाई सचेततापूर्वक आलोचनात्मकरुपमा हेर्ने गर्दछन्।
नागरिक समाजहरु स्पष्टरुपमा राज्यशक्तिका विषयमा ठोस निर्णय लिन सक्ने स्थितिमा रहेका हुन्छन्। यिनीहरु राज्यशक्तिप्रति उदासीन भएका हुँदैनन्, बरु राज्यको केन्द्रीय अंगसित मिलेर समस्तरको प्रतिरोधी शक्तिका रुपमा रहेका छन्। नागरिक समाजलाई स्वतः स्फूर्तरुपमा मानिसहरु संगठित थलोका रुपमा चिनिन्छ। नागरिक समाज परिवार, व्यक्तिको निजी अवस्था, चाहना तथा जीवनदर्शनका निम्ति बनेको सम्बन्ध सूत्रको जालो हो।
नेपालमा ऐतिहासिककालदेखि नै नागरिक समाजले राज्यशक्तिसँग मिलेर काम गर्दै आएको छ। लिच्छवी र मल्लकालीन नेपालमा नागरिक समाजको भूमिका महत्वपूर्ण थियो। नेपालको एकीकरणमा पनि नागरिक समाजका संगठनहरुले महत्वपूर्ण योगदान पुर्याएका थिए। राणाकालीन राजनीतिमा भने यिनीहरु फस्टाउन सकेनन्। अधिनायकवादी राज्य परम्परामा नागरिक समाजलाई पूरै दबाइएको हुन्छ। यति हुँदाहुँदै पनि प्रजातन्त्रको स्थापनामा नागरिक समाजले महत्वपूर्ण भूमिका खेलेको हामी पाउँछौं।
प्रजातन्त्रको पुनस्र्थापनापश्चात् नागरिक समाजका संगठनहरु फेरि सक्रिय हुन थालेका छन्। आजभोलि नागरिक समाजका संगठनहरु प्रजातान्त्रिक वातावरण सिर्जना, मानवअधिकारको प्रत्याभूति, लैंगिक समता, वातावरण संरक्षण, सुशासन, आधारभूत आवश्यकताको पूर्ति र स्वावलम्बनमा आधारित विषयहरुमा केन्द्रित छन्।
नागरिक समाजका परिभाषाका बारेमा विद्वानहरुमा एकरुपता पाइँदैन। नागरिक समाजको अलग-अलग स्वरुप, कार्यात्मक विविधता, क्षेत्र, तह र प्रवृत्तिले गर्दा नै यो समस्या सिर्जना भएको हो। वाल्जरका अनुसार ‘नागरिक समाज भनेको करकाप नगरिएको मानवीय समुदायको स्थानको नाम हो र साथै सम्बन्धमूलक तानावानाको सेट हो जो परिवार, विश्वास स्वार्थ र विचारधाराका लागि गठित हुन्छ र जसले त्यो स्थानको पूर्ति गर्छ।’
डायमण्डका अनुसार नागरिक समाज भनेको स्वेच्छिक, स्वपरिचालित, स्वसमर्थित, राज्यबाट स्वायत्त र कानुनी आदेश वा साझा नियमहरुद्वारा बाँधिएको एक किसिमको संगठित सामाजिक जीवन हो। यो सामान्यतया समाजभन्दा के मानेमा फरक हुन्छ भने यसले आधार, स्वार्थ, भावना र विचार अभिव्यक्त गर्न, जानकारी आदानप्रदान गर्न पारस्परिक लक्ष्य प्राप्त गर्न, राज्यसँग माग गर्न र राजकीय कर्मचारीलाई जिम्मेवार बनाउन सार्वजनिक क्षेत्रमा क्रियाशील नागरिकहरुलाई सामेल गराउँछ।
नागरिक समाजको मुख्य कार्यहरुमा नागरिकको चासो र समस्याको विषयमा सरकारलाई राय सुझाव दिने, राज्यको नीति निर्माण एवं कार्यक्रम तर्जुमा गर्न सरकारलाई सुझाव, दबाब तथा सहकार्य गर्ने, सामाजिक समस्याहरुप्रति सचेत र सजक गराउने, नागरिक चेतना बढाउन र राज्यप्रतिको दायित्व पूरा गर्न नागरिक शिक्षा प्रदान गर्ने, सामाजिक अपराध न्यूनीकरण गर्न एकता कायम गरी संगठित हुने, उपभोक्ता हित प्रवद्र्धन गर्ने गराउने, अध्ययन तथा अनुसन्धान कार्यमा सहयोग गरी समाज परिवर्तनमा सहयोग गर्नेलगायत पर्दछन्।
नागरिक समाजका सकारात्मक पक्षहरुमा जनताको आवश्यकताको पहिचान र परिपूर्तिमा सहयोग पुर्याउने, जनपरिचालनको माध्यमबाट राष्ट्र निर्माणको कार्यलाई प्रभावकारी बनाउने, सुशासनको अवधारणालाई व्यावहारिक रुप दिन सरकारलाई सुझाव र दबाब दिने, जनआकांक्षायुक्त नीति निर्माणमा दबाब सिर्जना गर्ने, समाजका कमजोर र पिछडिएका वर्गहरुको आवाजलाई बुलन्द गर्ने, सम्बन्धित पक्षलाई जनताप्रति उत्तरदायी बनाउने, राज्यको नियन्त्रण र बजार संयन्त्रको एकाधिकारबाट जनतालाई मुक्त राख्ने कार्यलाई अभियानको रुपमा उठाउनुपर्ने देखिन्छ।
नागरिक समाजका नकारात्मक पक्षहरुमा नेपालका नागरिक समाज राजनीतिकृत हुनु, नागरिक समाज आफ्नो क्षमतालेभन्दा दाता निकायको दबाबमा काम गर्ने गरेको, सीमित व्यक्तिहरुको रुचिको आधारमा नागरिक समाज परिचालित हुनु, स्वतन्त्र र निष्पक्ष नभई पूर्वाग्रहका आधारमा परिचालित हुने, स्रोत परिचालनमा सुझाव भन्दा बढी मागमात्र राख्न उद्धत गराउने काममा सरिक हुनु, नागरिक समाजको अगुवाले व्यक्तिगत स्वार्थ पूरा भएपछि नागरिक समाजको माग ओझेल पर्ने गरेको, नागरिक समाजहरुबीचमा एउटै विषयको मागहरुमा पनि फरक फरक ढंगले प्रस्तुत हुनु, जुन उद्देश्यले स्थापना भएका थिए सो अनुरुप कार्य सञ्चालन नभएको, सम्भ्रान्त वर्गको वर्चस्व रहेको, तल्लो वर्गको हितमा कम संलग्नता, राजनीतिसँग आबद्धताः शिक्षक, प्राध्यापक संघ, कर्मचारी संघ, संगठन, राजनीति आस्थाकै आधारमा पृथक, तारे होटलमा गोष्ठी, सभा गर्ने र विदेश सयरमा रमेका, जागिर खाने, विदेशबाट सहयोग ल्याउने, समाजसेवा भएको देखाउने, तर उपलब्धि हात नपार्ने प्रवृत्ति रहेको देखिन आउँछ।
नागरिक समाजको प्रभावकारिता ल्याउन चाल्नुपर्ने कदमहरुमा नागरिक समाज राजनीतिकृत हुन नहुने, नागरिक समाजले क्षमता बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने, दाता निकायको दबाबमाभन्दा देशको आवश्यकता काम गर्नुपर्ने, स्वतन्त्र र निष्पक्ष नभई पूर्वाग्रहका आधारमा परिचालित हुनु भएन, स्रोत परिचालनमा सुझावभन्दा बढी मागमात्र नराखी जिम्मेवार हुनुपर्यो। नागरिक समाजको अगुवाले व्यक्तिगत स्वार्थ हेर्नु भएन, नागरिक समाज साँच्चिकै समाजका मागहरुमा केन्द्रित हुनुपर्ने देखिन्छ।