काठमाडाैं- बुधबार बिहान तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै आएको बाढीबाट प्रभावित धादिङ, नुवाकोट, रसुवा, चितवन, गाेरखालगायतका नेपाल टेलिकमको फोन तथा डाटा सेवा उद्धार, सहजीकरण र समन्वयका लागि निःशुल्क गरिएको अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ।
मन्त्रालयका अनुसार राहत, उद्धार तथा खोजी कार्यमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति लिन नपर्ने व्यवस्था समेत मिलाइएको छ। उक्त बाढीबाट विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विपत्तिसँग जुध्न सबै एकजुट हुन आग्रह गरेका छन्। उनले रसुवाको भोटेकोशी हुँदै आएको बाढीका विषयमा छलफल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा नेपाली सेनाका उपरथी अनुपजंग थापाले उद्धारसम्बन्धी सम्पूर्ण अवस्थाबारे जानकारी गराएका थिए। छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले विपद्को समयमा सरकारले तत्काल देखाएको चासो तथा उद्धारका लागि गरेको प्रयासप्रति धन्यवाद दिँदै प्रभावित जनतालाई सहयोग र राहतमा कुनै कमी नगर्न सरकारलाई आग्रह गरेका छन्।
प्राप्त जानकारीअनुसार तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बजार क्षेत्रमा रहेका बैंकका शाखा कार्यालयहरू समेत क्षतिग्रस्त भएका छन्। सरकारले रसुवाको बाढीमा परेर घाइते भएकाहरूको उद्धार जारी राखेको छ। घाइतेहरूलाई हेलिकप्टरमार्फत काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि ल्याइएको छ।
अप्रत्याशित रूपमा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले त्रिशूली बजार क्षणभरमै बगरमा परिणत भएको छ। बाढीले भन्सार, अध्यागमन कार्यालय, सडक, पुल, सवारीसाधन, जलविद्युत् आयोजना, गाउँपालिका कार्यालय, प्रहरी चौकी, वडा कार्यालयलगायत सरकारी संरचनामा क्षति पुर्याएको छ। नदी किनारमा बसोबास गर्ने सयौं स्थानीयका घर तथा खेतबारी समेत बाढीसँगै बगेका छन्।
यति अप्रत्याशित रूपमा बाढी आएर ठूलो विनाश हुनुको कारणबारे हालसम्म यकिन हुन सकेको छैन। तर तिब्बततर्फको उत्तरी हिमाली क्षेत्रमा अत्यधिक वर्षासँगै हिमताल फुटेर बाढी आएको हुन सक्ने अनुमान गरिएको छ। हालसम्मको सडक क्षतिको विवरण हेर्दा स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको करिब १८ किलोमिटर सडक बगाएको छ। सयौं मानिस बेपत्ता भएका छन् भने कतिपय स्थानीय घरका छतमा उद्धारको पर्खाइमा रहेका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार रसुवा बाढीबाट प्रभावित घाइतेहरूको उपचारका लागि एपीएफ अस्पतालमा समेत बेड खाली गराइएको छ। बेडहरू तयारी अवस्थामा राखिएको उनले बताएका छन्। साथै काठमाडौंको वीर अस्पताल, शिक्षण अस्पताललगायत विभिन्न अस्पतालहरू समेत तयारी अवस्थामा राखिएको जानकारी प्राप्त भएको छ।
हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीप यादवका अनुसार नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनासँगको समन्वयमा रिफ्युलर गाडी समेत पठाइएको छ। हरेक दिन विमानस्थलभित्र मात्र जहाजमा इन्धन भर्न प्रयोग गरिने उक्त रिफ्युलर गाडी आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै पहिलोपटक विमानस्थल बाहिर पठाइएको उनले बताएका छन्।
बुधबार दिउँसोसम्म २९ जनाको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि नेपाली सेनाका ६ वटा हेलिकप्टर परिचालन गरिएको थियो। उद्धार कार्यलाई सहज बनाउन ३ वटा ड्रोन समेत परिचालन गरिएको छ। प्राप्त जानकारीअनुसार बाढीपछि नुवाकोटका कारागार तथा बाल सुधार गृह, ७४८ मेगावाट क्षमताका जलविद्युत् तथा सोलार आयोजना, विभिन्न बैंकका शाखा कार्यालय, सरकारी कार्यालयलगायत संरचनामा क्षति पुगेको छ।
नुवाकोटको त्रिशूली र ढुंगे बजार क्षेत्रमा समेत ठूलो क्षति भएको छ। सरकारले क्षतिग्रस्त स्थानमा सबै सुरक्षा निकायलाई सक्रिय रूपमा परिचालन गरेको छ। कतिपय स्थानमा प्रहरी चौकीसमेत बाढीले बगाएको छ भने सम्पर्कविहीन सुरक्षा कर्मचारीको खोजी कार्य समेत जारी रहेको छ।
यसैबीच, प्रधानमन्त्रीले सोही क्षेत्रका सांसदहरूसँग बाढीको विषयमा छलफल गरेका छन्। त्यस्तै, सोही विषयमा गृहमन्त्री सुदन गुरुङले संसद्मा घटनाबारे विस्तृत जानकारी गराउने कार्यक्रम रहेको जानकारी यो समाचार तयार पार्दासम्म प्राप्त भएको छ।