सर्लाही- ईश्वरपुर नगरपालिका-५ स्थित फुलजोर चोकमा प्रहरीले ठूलो परिमाणमा रेडिमेड कपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेको बा.७ च १६३२ नम्बरको कार नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रहरी चौकी फुलजोर र ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ टोलीले जाँच गर्ने क्रममा उक्त कार फुलजोर–बलरा सडकखण्डमा छाडिएको अवस्थामा फेला पारेको थियो। प्रहरी टोलीलाई देखेपछि कार चालक फरार भएको जनाइएको छ।
कार शंकास्पद देखिएपछि प्रहरीले खानतलासी गर्दा करिब ६ लाख ७८ हजार ८ सय रुपैयाँ बराबरको रेडिमेड कुर्ता-सुरुवालका कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बरामद कपडा र कारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा पठाइएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। कार कसको नाममा रहेको हो, बरामद कपडा कहाँबाट ल्याइएको थियो र यसको कारोबारमा को-को संलग्न छन् भन्ने विषय अनुसन्धानपछि थप खुल्ने प्रहरीले जनाएको छ।