टेकुको सहिद शुक्रराज शास्त्रीलाई झुण्ड्याइएको खरीको बोट । त्यही खरीबोटको काखमा बनाएको छ, सालिक । शास्त्रीको त्यही सालिक बनाउनेहरु पटक-पटक भए मालिक । सालिक बनाउने मालिकहरुले रातो चम्किलो इँटाले बनाएका छन्, सानो चौतारो । असारको मध्य दिनमा टन्टलापुर घामलाई छेकेर त्यही सहिदको सालिकलाई मात्र होइन, चौतारोमा बसिरहेको मट्याङ्ग्रोलाई पनि शितल प्रदान गरिरहेको थियो खरीको बोट । खरीको बोटले सहरलाई वर्षौंदेखि नियालिरहेको थियो । त्यसले सरकार फेरिएको पनि देखेको थियो, नारा फेरिएको पनि देखेको थियो, तर सहरको बानी भने धेरै नफेरिएको देखेको थियो ।
मट्याङ्ग्रो त्यही चौतारोमा बसेर मोबाइलमा भिडियो सार्दै थियो । सार्दै गर्दा उसको औला चल्न छाडे । भिडियोमा टक्क रोकियो ।
‘ह्विल लक’ गरेपछि नवयुवाले आफैंले आफैंलाई जलाएर आत्मदाह प्रयास । दृश्यमा एउटा जवान केटो सडककोबीचमा आगोको ज्वालासँगै अइया र आत्था गर्दै चिच्याउँदै थियो । वरपर रहेकाहरु आगो निभाउन होइन मोबाइलमा भिडियो बनाउनमै व्यस्त देखिन्थे ।
मट्याङ्ग्रोले शुक्रराज शास्त्रीको सालिकलाई सुनाउँदै भन्यो । ‘एउटा भर्खरको केटोको ज्यान गयो ।’ उसले मनमनै भन्यो, अब सहरमा दुःखभन्दा ठूलो राजनीति सुरु हुने छ । त्यत्तिकैमा केशव नेपाल आइपुग्यो । किन हो, आज त सालिकलाई नै भिडियो देखाएर भ्युज बढाइदिएको ? मट्याङ्ग्रोले दायाँ त्रिपुरेश्वरतर्फ हेर्दै भन्यो । एउटा दुःखद घटनाले सहर रोएको जस्तो देखिन्छ । सहरमात्र रोएन सयौं मानिसहरु पनि भित्रभित्र रुँदै छ । अनि स्वार्थीहरुका आँखामा आँसु होइन, अवसर खोजिरहने छन् ।
‘एक कान, दुई कान, मैदान’ भनेजस्तै भयो । सामाजिक सञ्जालमा युवाका जलन फैलियो । मन भएकाले अस्पताल पुर्याउने प्रयास गरे । मनै नभएकाले भिडियो बनाएरै बसे । युवा भित्रभित्रै जलिरहेको थियो । संसद्मा चर्चा चलिरह्यो । गृहमन्त्रीले बोले म रातभर रोएँ । यो त मेरो क्षेत्र अधिकारभित्रै पर्दो रहेन छ । त्यो त सबै ऊ परको स्थानीय सरकारको काममा पर्ने रहेछ ! भोलिपल्ट बिहानै मट्याङ्ग्रोले हेरिरहेको थियो । नगर प्रहरी सडकमा कम देखिन थाले । कसैले भन्यो, ‘तनाव छ ।’ कसैले भन्यो, ‘सुरक्षाको चिन्ता छ ।’ जुनसुकै कारण होस्, सडकले त्यो अनुपस्थितिलाई तुरुन्तै महसुस गर्यो ।

फुटपाथमा पहिला एउटा टेबुल आयो । त्यसपछि अर्को । त्यसपछि छाता । त्यसपछि प्लास्टिकको पाल । बिहानसम्म पैदल हिँड्ने बाटो बजार बनिसकेको थियो । एउटा कार सडकको बीचमै पार्क थियो । त्यसको छेउमा अर्को । अर्कोको छेउमा मोटरसाइकल । हर्नको आवाजले सहरको बिहानको प्रार्थना प्रतिस्थापन गरिसकेको थियो । न्युरोड गेट कट्नेबित्तिकै एउटा चालक करायो, दुई मिनेट त हो ! मट्याङ्ग्रो हाँस्यो । ऊ हाँसे पनि उसको भित्र बैरीले हाँस्दै भन्यो, ‘हेर मट्याङ्ग्रो, सहरमा पसल उम्रिन अब वर्षा चाहिँदैन रहेछ ।’
मट्याङ्ग्रोले जवाफ दियो, ‘नियमको घाम अस्ताएपछि अव्यवस्थाको बीउ आफैं उम्रिन्छ ।’ ‘हेर केशव, हाम्रो देशको सबैभन्दा लामो समय कुन हो थाहा छ ?’ उसले भन्यो, ‘कुन ?’ मट्याङ्ग्रोले भन्यो, ‘दुई मिनेट ।’ ‘किन ?’ उसले सोध्यो । किनकि यही दुई मिनेटमा गाडी दिनभरि बस्छ । फाइल पाँच वर्ष अड्किन्छ । अनि जिम्मेवारी कहिल्यै आइपुग्दैन । फुटपाथमा एउटा वृद्धा लठ्ठी टेक्दै आइन् । उनी पैदल हिँड्ने बाटो खोज्दै थिइन् । तर बाटो सामानले भरिएको थियो । उनले सडक समातिन् । गाडीले हर्न बजायो । उनी डराइन् । मानिसहरू चिच्याए । सौभाग्यले दुर्घटना भएन ।
तर कसैको पसल हटेन । कसैको गाडी सरेन । जीवन फेरि उही गतिमा चल्यो । मट्याङ्ग्रोले फेरि भन्यो, ‘हामी दुर्घटनाबाट सिक्दैनौं केशव । हामी दुर्घटना बिर्सिनमात्रै छिटो हुन्छौं ।’ सहरभरि आन्दोलनका पोस्टर टाँसिएका थिए । कतै न्यायको माग थियो । कतै व्यवस्थामाथि प्रश्न थियो । कतै नियमको पक्षमा बहस थियो । कतै नियम नै अन्याय हो भन्ने नारा थियो । केशवले सोध्यो, ‘यत्रो बहस, अब समाधान निस्केला त ? मट्याङ्ग्रो मुस्कुरायो । ‘हामीकहाँ समाधानभन्दा पहिला माइक्रोफोन खोजिन्छ ।’ ‘किन ?,’ उसले प्रश्न तेर्सायो । ‘किनकि समाधान चिच्याएर आउँदैन, काम गरेर आउँछ । काम गर्नेभन्दा बोल्ने धेरै छन्,’ मट्याङ्ग्रोले भन्यो ।
साँझ पर्न लाग्यो । मट्याङ्ग्रोले खरीको बोटबाट त्रिपुरेश्वर अनि कालीमाटीतिर आँखा तेर्सायो र भन्यो, ‘यो सहर विचित्र छ केशव ।’
‘किन ?’
‘जब नियम कडाइका साथ लागू हुन्छ, केही मानिस ‘स्वतन्त्रता खोस्यो’ भन्छन् । अनि नियम लागू हुँदैन भने, सरकार कहाँ छ ? भनेर कराउँछन् ।’ केशव केहीबेर चुप लाग्यो ।‘त्यसो भए सरकार जे गरे पनि दोषी ? मट्याङ्ग्रोले हाँस्दै भन्यो, सरकारमात्र होइन, नागरिक पनि आफूलाई कहिल्यै दोषी मान्दैन । त्यत्तिकैमा एउटा युवक मोबाइलबाट लाइभ गर्दै चिच्याइरहेको थियो ।’‘हेर्नुस् ! सहर अस्तव्यस्त भयो ! कसैले केही गर्दैन !’ मट्याङ्ग्रोले केशवलाई सोध्यो, ‘उसले कहिल्यै नियम पालना गरेको होला ?’ केशवले काँध उचाल्यो, ‘थाहा छैन ।’
‘हामी सबै अरूलाई सुधार्न चाहन्छौं । आफूलाई भने छुट चाहन्छौं । यही नै हाम्रो राष्ट्रिय चरित्र बन्दै गएको छ ।’ टेकुको त्यो चौतारो शान्त थियो । तर काठमाडौं सहर अझै कराइरहेको थियो । हर्न । नारा । भाषण । लाइभ भिडियो । फेसबुकका बहस । सबै एकसाथ । मट्याङ्ग्रो उठ्यो । धुलो टक्टक्यायो । आकाशतिर हेरेर बिस्तारै भन्यो, ‘एउटा दुःखद घटनाले सहरलाई ऐना देखाएको छ । तर डर लाग्छ, कतै हामी ऐनामा आफ्नो अनुहार होइन, अरूकोमात्रै दोष खोज्दै नबसौं ।’
केशवले सोध्यो, ‘साँच्चै उता बाढीले पस्यो रे नि ?’ मट्याङ्ग्रोको अनुहार गम्भीर भयो । अब कथा सहरको सडकबाट बाढी पसेको होल्डिङ सेन्टरतिर मोडिन्छ । जहाँ नारा कम छन्, तर पीडा धेरै छ । खरीको बोटका पात फेरि सर्सराए । मट्याङ्ग्रो र केशव टेकुको चौतारोबाट उठेर अघि बढे । सहरको भीड उस्तै थियो, तर उनीहरूका पाइला भने खोलाको किनारमा बनाइएको एउटा अस्थायी होल्डिङ सेन्टरतिर लागे । बाटोभरि पोस्टर टाँसिएका थिए । कतै लेखिएको थियो, ‘न्याय चाहिन्छ !’ अर्कोमा, ‘व्यवस्था बदल !’ अर्कोमा, ‘जनताको आवाज दबाउन पाइँदैन !’
मट्याङ्ग्रो मुसुक्क हाँस्यो । ‘केशव, हाम्रो देशमा पोस्टरको अभाव कहिल्यै हुँदैन ।’‘किन ?,’ केशवले सोध्यो । ‘किनकि पोस्टर टाँस्न सजिलो छ, समाधान टाँस्न गाह्रो ।’ खोलाको किनारमा पुगेपछि उनीहरू दुवै केही क्षण मौन भए । रातिको वर्षाले ‘होल्डिङ सेन्टर’ डुबाएको थियो । प्लास्टिकका पालहरू आधा पानीमा थिए । ओछ्यानहरू भिजेका थिए । बालबालिकाका कापी-किताब पानीमा तैरिरहेका थिए । एउटी सानी केटो चिसो भुइँमा बसेर रुँदै थियो । अर्की सानी केटी आमाले बाढीमाथि राखेको टेवलमा निदाइरहेकी थिई । मट्याङ्ग्रोको घाँटी सुक्यो ।
‘केशव’ उता हेर त । ‘किताब भिजेपछि अक्षरमात्रै मेटिँदैन रहेछ । भविष्य पनि धमिलो हुँदो रहेछ । स्कुले केटो भिजेको किताबमा अक्षर कलाउँदै थियो । एउटा वृद्धा भिजेको कम्बल निचोर्दै थिइन् । उनले भनिन्, बाढी त हरेक वर्ष आउँछ बाबु तर हाम्रो पालोमा सरकार कहिल्यै आउँदैन । त्यहाँ त केवल भिजेको चामल, चिसिएको भुइँ र काँपिरहेका बालबालिका थिए ।’ त्यहाँ सरकारका भनिएका गैरमान्छेहरु सुरक्षा र अधिकारको कुरा गर्दै थिए । भाषण राम्रो थियो । शब्द मिठा थिए । तर त्यहाँ रोइरहेको बालकलाई देखेनन् ।
‘टाइँटाइ फिस !’ गर्दै थिए । निर्देशन दिँदै थिए । उनीहरुलाई युट्युबरहरुले तह लगाउने प्रयास गर्दै थिए । प्रहरी उनै टाइँटाइ फिसहरुकै पछि थियो । त्यत्तिकैमा पुलिसको भ्यान आयो । नारा र भाषण गर्नेहरुलाई ‘ङ्याक्दै भ्यानभित्रै कोच्दै थिए । केशवले गहिरो सास फेर्यो । ‘मट्याङ्ग्रो, यहाँ सबैले गरिबको नाम लिन्छन् । तर गरिबलाई सुन्ने कोही छैन ।’ मट्याङ्ग्रोले जवाफ दियो, ‘गरिब हाम्रो राजनीतिमा सबैभन्दा धेरै बोलाइने पात्र हो । तर उसलाई बोल्ने पालो भने कहिल्यै आउँदैन ।’ अचानक एउटी आमा कराइन् । बच्चालाई ज्वरो आयो ! औषधि खोजियो । स्वास्थ्यर्मी खोजियो । तर भेटियो केवल एउटा फाराम । त्यसमा लेखिएको थियो, ‘आवश्यकताअनुसार व्यवस्थापन गरिने छ ।’
मट्याङ्ग्रो हाँस्यो र केशवलाई खोलातिर संकेत गर्दै भन्यो, ‘सायद फेरि बाढी आउँदै छ ।’ होल्डिङ सेन्टरमा एउटा बालकले भिजेको कापी सुकाउँदै थियो । उसले मट्याङ्ग्रोलाई सोध्यो, ‘हाम्रो घर कहिले बन्छ ?’ मट्याङ्ग्रोसँग उत्तर थिएन । मनमनै सोच्यो, घर त इँटाले बन्छ । तर भरोसा कसले बनाइदिन्छ ? दुवै फेरि टेकुको चौतारोतिर फर्किए । खरीको बोटका पातहरू हावासँगै हल्लिरहेका थिए । मट्याङ्ग्रोले आकाशतिर हेर्दै केशवलाई भन्यो, ह्विल लक लाग्यो, उसले आफैंलाई जिउँदै सल्कायो ! सहरमा फुटपाथ फेरि भरियो, सडक फेरि जाम भयो, भाषण फेरि गुञ्जियो । तर त्यहाँ, खोलाको किनारमा, एउटी आमाले आज पनि भिजेको चुलो सुकाइरहेकी छन् । सिंहदरबारलाई के भयो ?