काठमाडाैं - नेपाल वायुसेवा निगमले आज ६८ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भरेकाे छ । निगमको केन्द्रीय कार्यालय, न्युरोडमा विशेष समारोह आयाेजना माननीय संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री खडक राज पौडेल (गनेस)को प्रमुख आतिथ्यमा निगमले ६८ औँ वार्षिक उत्सव सम्पन्न गरेका हाे ।
मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला र सहसचिव जयनारायण आचार्य विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो । औपचारिक कार्यक्रम अघि निगम परिसरबाट प्रभातफेरी कार्यक्रम सुरु गरी न्युरोडस्थित जुद्ध सालिक चोक हुँदै पुनः निगमको प्राङ्गणमा फर्किएको थियो ।
कार्यक्रममा निगमका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । माननीय मन्त्रीज्यूले निगमको वार्षिकोत्सवको अवसरमा शुभकामना दिंदै निगमले गरेका राम्रा कार्यमा मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुने र निगमका सम्पूर्ण कर्मचारीहरूले कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाज्यूले निगमलाई शुभकामना दिँदै निगमको अवस्थालाई समीक्षा गरी अहिले नै निराश नहुन र निगमलाई बलियो बनाउन सबैले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रमको अध्यक्षता समेत गरेका निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको हालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
निगमका अनेकौँ चुनौती र वाधाहरूका बीचमा पनि धेरै सकारात्मक सङ्केतहरू देखाउन सफल हुँदै गएको र पछिल्लो समय यात्रुहरूको सङ्ख्या वृद्धि भएको र निगमको आम्दानी पनि बढेको उल्लेख गरे । निगमले विगतका अनुभवबाट शिक्षा लिदै वर्तमानका चुनौतीप्रति सजग रहदै भविष्यप्रति स्पष्ट दृष्टिकोणका साथ अघि बढ्ने प्रयासमा आफू प्रतिबद्ध रहेको बताउँदै सबैलाई धन्यवाद ज्ञापन गरे ।
यही अवसरमा निगमको तर्फबाट हरेक वर्ष प्रकाशन गरिने वार्षिकोत्सव विशेषांक “आकाशभैरव”को लोकार्पण पनि गरिएको थियो । वार्षिकोत्सवको अवसरमा असार १२ गते निगमको केन्द्रिय कार्यालय र त्रि.अ.वि.मा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा निगमका कर्मचारी लगायत कूल २६४ जनाले रक्तदान गरेका थिए ।