काठमाडाैं - तुँदी पावर कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ करोड कित्ता साधारण शेयर निष्कासन तथा बिक्रीका लागि कुमारी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो।
कम्पनीका अनुसार आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, कर्मचारी, सामूहिक लगानी कोषका योजनाहरू तथा सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिनेछ।यससम्बन्धी सम्झौतापत्रमा तुँदी पावर कम्पनी लिमिटेडका तर्फबाट महाप्रबन्धक इन्द्रप्रसाद ढकाल र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।
तुँदी पावर कम्पनी लिमिटेडले म्याग्दी जिल्लामा रहेको राहुघंगा नदीको पानी उपयोग गरी निर्माण गरिएका दुई जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले ३५.५ मेगावाट क्षमताको चिमखोला-राहुघाट-मंगले जलविद्युत् आयोजना तथा ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजनाबाट विसं २०८२ वैशाख २० गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको जनाएको छ।
कम्पनीका अनुसार दुवै आयोजनाबाट उत्पादित विद्युत् राहुघाट जलविद्युत् आयोजनाको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर बिक्री भइरहेको छ।आईपीओ निष्कासनको तयारीसँगै तुँदी पावरले ऊर्जा क्षेत्रमा लगानी विस्तार र पूँजी परिचालनलाई थप गति दिने अपेक्षा गरिएको छ।