काठमाडौं- नेपाल टेलिकमले मुगु जिल्लास्थित रारा तालको मनोरम दृश्यावलोकनका लागि प्रसिद्ध पर्यटकीय गन्तव्य मुर्माटपमा फोरजी (4G) मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार उक्त सेवा असार १५ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित मुर्माटप रारा ताल, हिमशृङ्खला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मनमोहक प्राकृतिक दृश्य अवलोकनका लागि अत्यन्त लोकप्रिय गन्तव्य मानिन्छ। रारा तालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस स्थानमा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य आगमन हुने गर्दछ।
मुर्माटपमा फोरजी सेवा विस्तार भएसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीहरूले उच्च गतिको मोबाइल इन्टरनेट सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन्। यसले ट्रेकिङ मार्गमा समेत भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउने भएकाले यात्राका अनुभव, तस्बिर, भिडियो तथा प्रत्यक्ष अद्यावधिक सामाजिक सञ्जालमार्फत तत्काल साझेदारी गर्न सहज हुने अपेक्षा गरिएको छ।
नेपाल टेलिकमले आधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै रारा क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, स्थानीय होटल, होमस्टे, व्यवसायी तथा सेवाग्राहीहरूले विभिन्न डिजिटल सेवाको सहज उपयोग गर्न पाउने भएकाले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने कम्पनीको अपेक्षा छ।
मुर्माटपमा जडान गरिएको नयाँ टावरले उक्त क्षेत्रमा मात्र सेवा उपलब्ध गराउने नभई भविष्यमा हुम्ला, बाजुरा लगायतका दुर्गम हिमाली जिल्लाहरूमा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेसनका रूपमा समेत काम गर्ने नेपाल टेलिकमले जनाएको छ। यसबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा मोबाइल तथा डाटा सेवाको गुणस्तर र पहुँच थप सुदृढ हुने विश्वास गरिएको छ।
‘राष्ट्रको सञ्चार’ भन्ने आफ्नो प्रतिबद्धतालाई आत्मसात् गर्दै नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम क्षेत्रसम्म आधुनिक दूरसञ्चार तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ। आगामी दिनमा पनि सेवा विस्तार, गुणस्तर अभिवृद्धि तथा विश्वसनीयता सुदृढ गर्दै डिजिटल नेपालको परिकल्पनालाई साकार बनाउन कम्पनी प्रतिबद्ध रहने उल्लेख गरेको छ।
यसअघि नेपाल टेलिकमले विसं २०७६ मंसिर १९ गतेदेखि रारा ताल क्षेत्रमा फोरजी सेवा पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको थियो। मुर्माटपसम्म सेवाको विस्तारसँगै रारा क्षेत्रको डिजिटल पहुँच थप सुदृढ भएको कम्पनीको विश्वास छ।