रुपन्देही- रुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल ल्याइँदै गरेका करिब २० लाख ५० हजार रुपैयाँ बराबरका विभिन्न ब्रान्डका मोबाइल फोनसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आइतबार बिहान करिब १०ः३० बजे कोटहीमाई गाउँपालिका–५ बेनिनगर क्षेत्रमा इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको टोलीले आकस्मिक चेकपोस्ट स्थापना गरी सवारी साधन जाँच गर्ने क्रममा उक्त सफलता हासिल गरेको हो।
जाँचका क्रममा कोटहीमाई गाउँपालिका–२ निवासी ३६ वर्षीय पवनकुमार मुरावले चलाएको भारतीय नम्बर प्लेट **UP 56 DX 8838** को मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइँदै गरेका मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले ७ थान आईफोन–१३ (१२८ जीबी), १७ थान एप्पल आईफोन–१२, २ थान आईफोन–१२ प्रो म्याक्स (२५६ जीबी), १ थान आईफोन–१३ (२५६ जीबी), १ थान आईफोन–१३ प्रो म्याक्स (२५६ जीबी), १ थान आईफोन–१४ प्रो (२५६ जीबी), १ थान आईफोन–१४ प्रो म्याक्स (२५६ जीबी), ४ थान आईफोन–११ (१२८ जीबी) र १ थान आईफोन–१५ (१२८ जीबी) बरामद गरेको छ। मोबाइलसहित प्रयोग गरिएको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।
बरामद गरिएका मोबाइल तथा मोटरसाइकलको अनुमानित मूल्य २० लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।बरामद सामान तथा नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।