सप्तरी- सप्तरीको राजविराजमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा निकालिएको रथयात्राका क्रममा सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले बाराबाट एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा बारा, बारागढी गाउँपालिका-३ सिपुरा टोलका २५ वर्षीय निरज कुमार राय रहेका छन्।
प्रहरीका अनुसार २०८३ भदौ २० गते राजविराज नगरपालिका-८ स्थित राधाकृष्ण मन्दिरबाट श्रीकृष्ण जन्माष्टमीका अवसरमा रथयात्रा निकालिएको थियो।
सोही रथयात्रामा सहभागी राजविराज नगरपालिका-१ निवासी रोकी झाको गलामा लगाएको २६.२४० ग्राम सुनको सिक्री चोरी भएको भन्दै प्रहरीमा जाहेरी परेको थियो।
घटनापछि फरार रहेका रायको खोजतलास गर्ने क्रममा प्रहरीले उनलाई २०८३ भदौ २९ गते बाराको बारागढी गाउँपालिका-३, सिपुरा टोलबाट फेला पारी कानुनबमोजिम पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई चोरीसम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।