काठमाडौं- वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ८० लाख ४८ हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका-४ का २२ वर्षीय दीपक श्रीपाली, ललितपुरको महालक्ष्मी नगरपालिका-५ की ३४ वर्षीया नेहा अधिकारी, पाँचथरको याङवरक गाउँपालिका-६ का ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरि नगरपालिका-६ की ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि टर्की, बेलायत र दक्षिण कोरिया पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार दीपकले टर्की पठाइदिने भन्दै एक पीडितबाट दुई लाख ४८ हजार रुपैयाँ, नेहाले बेलायत पठाइदिने भन्दै ६७ लाख रुपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिने भन्दै छ लाख रुपैयाँ र सुस्मिताले बेलायत पठाइदिने भन्दै पाँच लाख रुपैयाँ लिएको आरोप छ ।
चारै जनाले गरी ८० लाख ४८ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ । उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।