काठमाडौं- नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था एसोसिएसनको शुक्रबार सम्पन्न १३औं साधारणसभा तथा निर्वाचनमा निवर्तमान वरिष्ठ उपाध्यक्ष गैरेले आफ्ना प्रतिद्वन्द्वी एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका किशोर केसीलाई झण्डै दोब्बर मतान्तरले पराजित गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष गैरेले १८६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी केसीले ९५ मतमात्र पाए । निर्वाचनबाट एसोसिएसनमा नौ जना पदाधिकारी र १० जना सदस्य गरी १९ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । एसोसिएसनको प्रथम उपाध्यक्षमा सुवर्ण लामा, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू, तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी, महासचिवमा सुमनराज पाण्डे, सचिव हिमा गुरुङ, सहसचिव जगतबहादुर गुरुङ, कोषाध्यक्षमा भिममाया कार्की र सहकोषाध्यक्षमा कैलाश पाठक निर्वाचित भएका छन् ।
सदस्यमा विष्णुप्रसाद सापकोटा, ओमप्रकाश शिवाकोटी, उर्मिला लामा, नवीन क्षेत्री पौडेल, विमल पोखरेल, राजेश मैनाली, युवराज खतिवडा, विक्रम खतिवडा, पुण्यकुमार श्रेष्ठ र शेरबहादुर गुर्वाछान विजयी भएका छन् । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले शनिबार निर्वाचन समितिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ ।

‘एसोसिएसनलाई एकताबद्ध बनाउँछु’
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष रामप्रसाद गैरेले संस्थामा देखिँदै आएको विभाजनलाई अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । उनले संस्थालाई एकताबद्ध र सशक्त बनाउने बताए ।
पार्टीको नीतिमा टेकेर संस्था सञ्चालन गर्दै व्यावसायिक समस्याका विषयमा निरन्तर आवाज उठाउने उनको भनाइ छ । ‘पार्टीको केन्द्रिय नीतिअनुसार सबैलाई समेटेर, फाटेका मनहरुलाई सियो धागो लिएर सिलाएर एकताबद्ध गराउँछु,’ उनले भने, ‘व्यवसायीका समस्या तथा सिण्डिकेटविरुद्ध निरन्तर आवाज उठाउँछौं । व्यवसायीका मुद्दामा संघ जवाफदेही नदेखिएको खण्डमा संघलाई घच्घच्याउने छौं ।’
पछिल्लो समय एसोसिएसन दुई धारमा विभाजित छ । एकातिर संस्थापन पक्ष हुँदा त्यसको विरोधमा अर्को समूह सक्रिय छ । जसकारण धेरै व्यवसायी आबद्ध भएको संस्था कमजोर हुँदै जान थालेको बताइन्छ । एसोसिएसनमा आबद्ध व्यवसायीलाई एक ढिक्का बनाउने मूल प्रतिबद्धतासहित गैरेले चुनाव लडेका थिए ।