काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा सात लाखभन्दा बढी युवाले रोजगारीका लागि मुलुक छाडेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत साउनदेखि जेठ मसान्तसम्मको अवधिमा सात लाख २२ हजार ८३३ जना श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि गएका छन् ।
जेठ महिनामामात्र ६१ हजार ७२ जनाले श्रम स्वीकृति लिएका विभागले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ । जसमा ५३ हजार ६९८ जना पुरुष र सात हजार ७७४ जना महिला छन् । उक्त एक महिनामा ३१ हजार ७०१ जना पहिलोपटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।
जेठमा १७ हजार १७७ पुरुष र दुई हजार २७८ जना महिला गरी कूल १९ हजार ४५५ जना युवा संस्थागत माध्यमबाट रोजगारीमा गएको तथ्यांक छ । व्यक्तिगत श्रम स्वीकृतिमा ११ हजार ५०३ जना जाँदा श्रम स्वीकृति नवीकरण गरेर २९ हजार ३७१ जना गएका छन् । त्यस्तै, जिटुजीमार्फत रोजगारीका लागि ५४० पुरुष ११२ महिला गरी कूल ६५२ जनाले मुलुक छाडेका छन् । जिटुजीमार्फत १४१ जना दक्षिण कोरिया र ५११ जना इजरायल गएका हुन् ।
विभागका अनुसार सो अवधिमा रोजगारीमा जाने दक्ष श्रमिकको संख्या ३७ हजार ३९१ जना रहेको छ । सीपयुक्त भएर जानेहरुमा ३२ हजार ४४७ महिला र चार हजार ९४४ जना महिला छन् । रोजगारीका लागि १४ हजार ९९४ जना अदक्ष कामदार परदेसिएका छन् । जसमा १३ हजार २९६ जना पुरुष र एक हजार ६९८ जना महिला छन् । साथै, आठ हजार ३२८ जना अर्धदक्ष, ६३ जना उच्च दक्ष र २९६ जना व्यावसायिक कामदार रोजगारीमा गएका छन् ।
प्रमुख गन्तव्य मलेसिया
जेठमा युवाहरु रोजगारीको खोजी गर्दै १०० वटा मुलुकमा पुगेका छन् । जसमध्ये मलेसिया प्रमुख रोजगार गन्तव्य बनेको छ । उक्त महिनामा कूल १४ हजार १९२ जना मलेसिया गएका छन् । जसमा १३ हजार ६५४ जना पुरुष र ५३८ जना महिला रहेका छन् । मध्यपूर्वको युद्धले खाडी मुलुकको रोजगारी प्रभावित हुँदा मलेसिया प्रमुख गन्तव्य बन्दै आएको छ ।
मलेसियापछि संयुक्त अरब इमिरेट्स (युएई)मा १२ हजार ४५५ जना गएका छन् । त्यस्तै, कतारमा १० हजार २१०, साउदी अरबमा सात हजार ५१९ र रोमानियामा दुई हजार ५१५ जना गएका छन् । nसोही अवधिमा म्यानपावर व्यवसायीले १५ वटा मुलुकमा श्रमिक पठाएका छन् । जसमा व्यक्तिगत श्रम स्वीकृतिमा ८३ वटा मुलुक गएको पाइएको छ । १६ वटा मुलुकमा एक जनामात्र कामदार गएका छन् । १० जनाभन्दा कम श्रमिक गएको मुलुकको संख्या ४३ वटा रहेको छ ।