भरतपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।बैठक भरतपुरस्थित सिएटी होटलमा दिउँसो १ः०० बजे बस्ने भएकाे हाे ।
बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए। बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उनले बताए ।
रास्वपाले भोलिदेखि चितवनमा आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्दैछ । महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ । महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयनसँगै भावी राजनीतिक कार्यदिशा र सङ्गठन विस्तारसम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने गौतमले बताए ।
चितवनमा हुन लागेको महाधिवेशनलाई रास्वपाले आफ्नो सङ्गठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।