काठमाडौं - युवा, रोजगार तथा श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारीका अवसर विस्तार गर्न सरकार केन्द्रित रहेको बताएका छन् । उनले आगामी दशकलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ का रूपमा अघि बढाउने तयारी भइरहेको जानकारी दिएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले रोजगार नीति परिमार्जनका लागि कार्यदल गठन गरिएको र आवश्यक नीतिगत सुधारका काम अघि बढाइएको बताए । हाल कार्यान्वयनमा रहेको रोजगार नीति, २०७१ समयानुकूल नरहेको उल्लेख गर्दै उनले प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी आधारसमेत अपर्याप्त भएकाले नयाँ रोजगार नीति तर्जुमाको प्रक्रिया सुरु गरिएको जानकारी दिए ।
युवालाई उद्यमशीलतासँग जोड्न देशभरका ७५३ स्थानीय तहमा सञ्चालित रोजगार सेवा केन्द्रलाई थप प्रभावकारी बनाइने बताउँदै उनले रोजगार सूचना तथा उद्यमशीलता विकासका लागि उद्यमशीलता केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि तयार गरिएको जानकारी दिए। मन्त्री यादवले नेपालमा श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै श्रम शोषण नियन्त्रणका लागि श्रम निरीक्षणलाई तीव्रता दिइएको बताए। उनका अनुसार आफू मन्त्री भएपछि हालसम्म करिब ८०० श्रम निरीक्षण सम्पन्न भइसकेका छन्।
वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवले विद्यमान वैदेशिक रोजगार ऐन संशोधन र ‘माइग्रेसन इकोसिस्टम’ को अभिलेखीकरण मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो। गन्तव्य मुलुकका रोजगारदाता तथा सरकारसँग सहकार्य बढाउन ‘एक्रिडिएसन मोडेल’ कार्यान्वयनको प्रक्रिया जारी रहेको उहाँको भनाइ थियो।
उनले हालै जेनेभामा आयोजित अन्तरराष्ट्रिय कार्यक्रममा नेपाली श्रमिकको सुरक्षा, सम्मान र श्रमिक अधिकारप्रति नेपालको प्रतिबद्धता प्रस्तुत गरिएको जानकारी दिए । वैदेशिक रोजगार तथा ठगीसम्बन्धी २०५७ सालदेखि थन्किएका फाइलहरूको डिजिटलीकरणको काम भइरहेको बताउँदै मन्त्री यादवले हालसम्म १० हजारभन्दा बढी फाइल डिजिटल अभिलेखीकरण गरिएको र थप १५ हजार फाइल असार मसान्तभित्र व्यवस्थित गर्ने लक्ष्य रहेको जानकारी दिए।
वैदेशिक रोजगार ठगी नियन्त्रण, उद्धार, राहत तथा गुनासो व्यवस्थापनका लागि ‘एक्सन कमाण्ड सेन्टर’ गठन गरिएको पनि उनले बताए। घरेलु श्रमिक व्यवस्थापनमा नीतिगत चुनौती रहेको उल्लेख गर्दै मन्त्री यादवले श्रम स्वीकृतिबिना अनौपचारिक माध्यमबाट विदेशिने नेपालीको सङ्ख्या बढ्दै गएको बताए। उनका अनुसार कुवेतमा मात्रै करिब ६० हजार नेपाली घरेलु श्रमिक श्रम स्वीकृतिबिना कार्यरत छन्।
अनौपचारिक रूपमा विदेश गएका नागरिक समस्यामा पर्दा समयमा सहयोग गर्न कठिन हुने अवस्था रहेको स्वीकार गर्दै मन्त्री यादवले युवालाई सीपमूलक तालिममार्फत स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए।