काठमाडाैं -सिक्किम–नेपाल साहित्यिक भेटघाट कार्यक्रम सिक्किममा सम्पन्न भएकाे छ । सोमबार गान्तोक, सिक्किममा सिक्किम एकाडेमीको आयोजनामा सिक्किम–नेपाल साहित्यिक भेटघाट कार्यक्रम एकाडेमीको सभाहलमा सम्पन्न भएकाे छ ।
सिक्किम अकादेमीका अध्यक्ष प्रविण राई ‘जुमेली’ द्धारा नेपालबाट उपस्थित अनलाइन अभिलेख प्रतिनिधिहरू डा. पुरण राई, आनन्द राई तथा प्रकाश राईलाई परम्परागत खादा ओढाएर स्वागत गर्दै कार्यक्रम प्रारम्भ गरिएको थियो । कार्यक्रममा सिक्किम अकादेमीका तर्फबाट भाषा तथा साहित्य सचिव प्रद्युम्न श्रेष्ठ र नेपालका तर्फबाट अनलाइन अभिलेखका प्रमुस सल्लाहकार साहित्यकार तथा समालोचक डा. पुरण राईले मन्तव्य राखेका थिए ।
सिक्किम–नेपाल साहित्यिक भेटघाट कार्यक्रममा नेपालको तर्फबाट अनलाइन अभिलेखले सिक्किमका दुई वरिष्ठ साहित्यकारहरु वीरभद्र कार्कीढोली र मदनकुमार राईलाई अभिनन्दन गरेको थियो । उनीहरुले दीर्घ साहित्यक साधनाबाट साहित्यमा पु¥याउदै आएको योगदानलाई मुल्यंकन गर्दै उनीहरुलाई सम्मान पत्र र शिरशोभा समर्पण गरी अनलाइन अभिलेख सम्मान प्रदान गरिएको थियो ।
नेपालका तर्फबाट बोल्दै डा. पुरण राईले नेपाली साहित्यको पूर्णतामा सिक्किम साहित्यको महत्वपूर्ण हिस्सा रहेको र सिक्किम साहित्यको पूर्णतामा पनि नेपाली साहित्यको महत्वपूर्ण हिस्सा रहेको भन्दै यही धरातलमा रहेर दुई साहित्यकारलाई सम्मानित गरिएको बताए । उनले विगत चार वर्षदेखि हरेक वर्ष साहित्यिक भ्रमणको सिलसिलामा नेपालको विभिन्न ठाउँलगायत हङ्कङमा पनि यस्तो सम्मान समर्पण गरिएकोे जनाए ।
यसका साथै डा. राईले अनलाइन अभिलेख साझा अनलाइन पुस्तक हो भन्दै यसमा विश्वका जुनसुकै स्थानमा रहेका व्यक्तिहरू आफैले आफ्ना जीवनी, अनुसन्धान, साहित्य, संस्कृति, वंशावली, मिथक, इतिहास, पर्याटन, कृषि, सूचना आदिको अभिलेख प्रकाशन गर्न सकिने पनि जानकारी दिए ।
सिक्किमका कवि प्रवीण खालिङद्धारा सञ्चालित यस कार्यक्रममा नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हरी ढुङ्गेल, पूर्व सचिव प्रताव प्रधानका साथै विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरु, वरिष्ठ कवि तथा साहित्यकारहरु, समाजसेवी, संगीतकार, पत्रकारलगायतका उपस्थिति थिए । यस कार्यक्रममा कविहरु राधा पाण्डे, टि.बी. चन्द्र सुब्बा, अविगेल राई, रुपा तामाङ, सूचन प्रधान, दावा योञ्जन, अम्बर गुरुङ ‘लाछिकाठी’ मनोरथ दाहाल, पूजा क्षेत्री, विश्वजीत बास्कोटा, ताम्लिङ सरोजनी सुब्बा, जीविका अश्रु, मणिका शर्मा, भीम रावत तथा योञ्जना कार्की गरी १५ कविहरुले कविता प्रस्तुत गरेका थिए ।
यी १५ कविहरुको कविता प्रस्तुतले सिक्किम–नेपाल साहित्यिक भेटघाट कार्यक्रमलाई अझ सौहार्दपूर्ण, स्मरणीय तथा आत्मीय बनाएको थियो ।